भद्रपुर । बुधबार राति भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की २३ वर्षीया दीक्षा प्रसाईं (चम्लागाईं) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची राजमार्गको चारआली–केचना सडकअन्तर्गत भद्रपुर–९ स्थित लक्ष्मी चोकमा राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पुर्याउना साथ उनको मृत्यु भएको उनले बताए ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका–१३ का ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।