विराटनगर । विराटनगरको कोसी अस्पताल ठेकेदार कम्पनीले समयसीमाभित्र निर्माण कार्य पूरा नगर्ने परिपाटीको सिकार बनेको छ ।
निर्धारित सम्झौता पूरा भइसक्दा पनि कोसी अस्पतालमा निर्माणाधीन मेडिकल र सर्जरी वार्डको नयाँ भवन पूरा भएकोे छैन । पुनः ६ महिनाको म्याद थप गरिएको छ ।

निर्माण कम्पनी बिजी कन्स्ट्रक्सनले २ करोड ६ लाख ८६ हजार ९ सय ५७  रुपैयाँ लागतमा कोसी अस्पतालको लिफ्टसहितको मेडिकल भवन २०७७ असार १५ गतेभित्रमा सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, निर्माण कम्पनीले कोभिड १९ को कारण सम्झौता अवधिमा नयाँ भवन बनाउन नसकेको भन्दै म्याद सकिएपछि पुनः ६ महिना म्याद थप गरी काम सुरु गरेको छ ।

अहिले यो भवनको निर्माण कार्य करिब ४० देखि ५० प्रतिशत मात्र पूरा भएको छ । नयाँ बनेको मेडिकल वार्डको भवनको पर्खाल उठाउने काम सकिएपछि प्लास्टर र लिफ्ट लगाउन बाँकी रहेको निर्माण कम्पनी बिजी कन्स्ट्रक्टसनका सञ्चालक विनोद गौतमले बताए । ‘कोभिड १९ को कारणले सम्झौता अवधिमा निर्माण कार्य पूरा गर्न सकिएन’ उनले भने, ‘अहिले म्याद थप गरेर काम धमाधम भइरहेको छ । पहिलो पटक ६ महिनाको म्याद थप गरिएको छ । थप भएको म्यादमा निर्माण पूरा गरी अस्पताललाई हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो ।’

कोसी अस्पतालभित्र कोेरोना सङ्क्रमितको उपचार गर्ने भवनको चार तलामा लिफ्टसहितको मेडिकल वार्डको नयाँ भवन बन्न लागेको मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘बिरामीलाई सहजताका लागि हामीले कोसीको मेडिकल वार्डका लागि नयाँ भवन निर्माणमा जुटेका छौं’ मेसु दासले भने, ‘अहिले निर्माण कार्य भइरहेको छ ।’

नयाँ बन्ने मेडिकल भवन चार तलामा हुनेछ । ३७ शय्याको हुने मेडिकल वार्डमा जान बिरामीको सहजका लागि लिफ्टसहितको भवन बनाउँदै गरिएको मेसु दासले जानकारी दिए । ‘आइसियु वार्ड तेस्रो तलामा हुनेछ’ उनले भने, ‘नयाँ बन्दै गरेको मेडिकल भवन चार तलामा हुनेछ ।’ कोभिडको कारण देखाउँदै सम्झौता अवधिमा निर्माण पूरा नभएपछि निर्माण कम्पनीले ६ महिनाको म्याद थप गरेको मेसु दासले जानकारी दिए । ‘मङ्सिरसम्म निर्माण पूरा गरी अस्पताललाई मेडिकल भवन हस्तान्तरण गर्ने तयारी गरी अहिले निर्माण भइरहेको छ’–उनले भने ।

सर्जरीको पनि नयाँ भवन बन्दै
कोसी अस्पताल परिसरभित्र सर्जरी विभागको पनि नयाँ भवन धमाधम निर्माण भइरहेको छ । ३ करोड १ लाख ७ हजार १ सय ६४ रुपैयाँ लागतमा सर्जरीको भवन बन्दै गरेको हो । यो भवन अहिलेको कोसी अस्पतालको ओपिडी भवनको तेस्रो तलामा बन्दै गरेको मेसु दासले जानकारी दिए । सर्जरी वार्ड यसअघि प्रसूति वार्डमा रहेको थियो । ‘नयाँ भवन बनेपछि सर्जरी वार्ड अहिलेको ओपिडीको तेस्रो तलामा हुनेछ’–मेसु दासले भने ।

सर्जरी वार्डको निर्माण कार्य सम्पन्न गरिने अवधि आर्थिक वर्ष असार २५ गतेसम्म थियो । कोभिडको कारण देखाउँदै सम्झौता अवधिमा निर्माण पूरा नभएपछि थप ६ महिना म्याद थप गरेको छ । सर्जरी र मेडिकल वार्डको नयाँ भवनबाहेक पनि कोसी अस्पतालभित्र अत्याधुनिक ६ तलाको भवन बन्दै छ ।

छुट्टै भवन बन्दै
३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ पहिलो चरणमा अण्डरग्राउण्डसहितको चार तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । बहुवर्षीय योजनाअनुसार गुरुयोजना बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना रहेको छ । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ ।

अण्डरग्राउण्ड भवनको भूइँ तलामा पार्किङ बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । दोस्रो तलामा एचडियुसहितको आइासेलेसनलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शøयाको हुनेछ ।

यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शय्याको हुनेछ । पहिलो चरणमा सङ्घीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँमा रमनभूमिले ठेक्का पाएको हो । पहिलो चरणमा ४ तलाको भवन बन्ने हो ।

त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । गुरुयोजनाअनुसार ७ तले भवनको लागत स्टिमेटमा पाँचौं तलामा ५२ शøयाको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपार्टमेण्ट बनाउने जनाइएको छ । हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोसीको सुविधा सम्पन्न भवन बनेपछि ५ सय बेड पुग्ने उनले जानकारी दिए ।