बिरामी र उनीहरुका आफन्तलाई राम्रो उपचार गरिदिने बहानामा अस्पताल र मेडिकलबाट कमिसन लिने बिचौलियालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।  

विराटनगरका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामी र तिनका आफन्तलाई बिचौलियाले झुक्याएर ‘यहाँ डाक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधि राम्रो छैन’ भन्दै आफ्नो सम्पर्कमा रहेका अस्पताल र क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने गरेका छन् । त्यस्ता क्लिनिक र अस्पतालले बिचौलियालाई कमिसन दिने गरेको खुलेको छ । 

बिचौलियाका सम्पर्कमा भएका फार्मेसीमा औषधि किन्न बाध्य गराउने बिचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख र हैरानी दिने गरेको पाइएको प्रहरीले बताएको छ ।

मोरङको विराटनगरबाट प्रहरीले मंगलबार पक्राउ गरेका थप १० जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दुहबी का ५४ वर्षीय श्रीराम चौधरी, सिरहा–२ का २० वर्षीय सूर्यनारायण यादव,  मोरङ कटहरी ३ का ४२ वर्षीय मो.जलिद, विराटनगर ७ का १८ वर्षीय विश्वास मण्डल, विराटनगर १४ का २३ वर्षीय रोशन गुप्ता, विराटनगर ४ का १९ वर्षीय सुजित यादव छन् । त्यस्तै गरी विराटनगर ५ का २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समीर खान, १८ वर्षीय सरोज खान र विराटनगर ३ का १८ वर्षीय अमित यादव रहेका छन् ।

पक्राउ परेका उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस अघि पनि जिल्ला प्रहरी कार्यालय मोरङबाट २ जनालाई बिचौलियालाई कानुनबमोजिम कारबाही भइसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।