सुनसरी / सुनसरी जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कका आधारमा सुनसरीमा कडा खालका लागूऔषधको कारोबार ह्वात्तै बढेको पाइएको छ ।
साउन २५ गते सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्कबाट १ सय ३० ग्राम ब्राउनसुगरसहित पाँचजना पक्राउ परे । बा.१४ च ६१४५ नम्बरको कारमा सवार रहेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्यो ।
तत्कालीन समयमा प्रहरीले सप्तरी हनुमाननगर कङ्कालिनी–१४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोइलाडी–४ का २० वर्षीय इनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया–१४ का २४ वर्षीय विनोदकुमार कामत, सप्तरी तिलाठी कोइलाडी–४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोइलाडी–४ का २२ वर्षीय फुलकुमार मुखियालाई पक्राउ गरेको थियो ।
कडा खालको लागूऔषध बरामद गरिएको यो पछिल्लो उदाहरण हो । प्रहरीले सानोतिनो परिमाणमा दैनिकजसो पक्राउ गर्दै आएको छ । साउन १८ गते मात्रै सशस्त्र प्रहरीले सुनसरीकोे कोशी गाउँपालिका–८ भण्टाबारीबाट ब्राउनसुगरसहित १७ वर्षीय युवालाई पक्राउ गरेको थियो । मोरङ सुनवर्षी नगरपालिका–९ का गणेश साहलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

यी प्रतिनिधि उदाहरणहरू मात्रै हुन् । सीमावर्ती क्षेत्र हुँदै जिल्लाभित्र सामान्य खालका लागूऔषधको कारोबार हुँदै आए पनि पछिल्लो समययता कडा खालका लागूऔषधमा पर्ने ब्राउनसुगरको कारोबार ह्वात्तै बढेको पाइएको हो । ब्राउनसुगरलाई जनबोलीमा खैरोहेरोइन भनेर पनि चिनिन्छ ।
तथ्याङ्कमा ब्राउनसुगर
जिप्रका सुनसरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७५/०७६ मा २ सय ७० ग्राम २ सय ९३ मिलिग्राम ब्राउनसुगरसहित १९ जना पक्राउ गरेको जनाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४७ ग्राम ३ सय २६ मिलिग्राम ब्राउनसुगरसहित ३३ जना व्यक्ति पक्राउ परे । यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय सुनसरीले ५ सय २४ ग्राम २ सय ३१ मिलिग्राम ब्राउनसुगरसहित ५५ जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण तथा रोकथाममा प्रहरीको सक्रियता बढेकाले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापा बताउँछन् । अन्य लागूऔषधको तुलनामा ब्राउनसुगर बोक्न सजिलो हुने भएकाले यसको कारोबार बढेको उनको बुझाइ छ । ‘खुल्ला सीमाको फाइदा उठाएर त्यस्ता कारोबार गर्नेहरू सक्रिय छन्’ एसपी थापाले भने, ‘अन्यभन्दा बढी फाइदा हुन्छ, त्यसैले ब्राउनसुगरको कारोबार बढेको हुनसक्छ ।’
नेपालमा प्रतिबन्धित ब्राउनसुगर भारतीय बजारबाट भित्रिने गरेको छ । भारतीय बजारबाट आयात गरिने ब्राउनसुगर सुनसरीहुँदै राजधानी काठमाडौंसम्म पुग्ने गरेको छ । लागूऔषध प्रयोगकर्ताका हिसाबले काठमाडौंपछि सुनसरी दोस्रो नम्बरमा आउँछ ।
कानूनी व्यवस्था
लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ दण्ड सजाय (१) दफा ४ को खण्ड (ज) मा २५ ग्रामसम्म कारोबार गर्नेलाई ५ वर्षदेखि १० वर्ष कैद र ५ हजारदेखि २५ हजारसम्म जरिबाना, २५ ग्रामदेखि एकसय ग्रामसम्म १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिबानाको व्यवस्था गरिएको छ ।एकसय ग्रामदेखिमाथिको परिमाणमा कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म सजाय व्यवस्था रहेको छ ।