तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ ।
चार दशकअघि व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ ।
व्यास नगरपालिका–५ पाटनका ८६ वर्षीय केबी गुरुङले जागीर छोडेर २०३६ सालदेखि जडीबुटी बिरुवाको व्यावसायिक उत्पादन सुरु गर्नुभयो । उहाँले अहिले तनहुँलगायत पर्वत जिल्लाको जलजले गाउँपालिका–९ मा जडीबुटीका लाखौँ बिरुवाको व्यावसायिक उत्पादन गरेका छन् । एक दुई हजार जडीबुटीका बिरुवाबाट सुरु गरेको खेती अहिले उनले व्यावसायिक रुपमा करिब २० रोपनी क्षेत्रफलमा सो खेती गरिरहेका छन् ।
श्रीखण्ड, पाँच औले, निरमसी, जटामसी, कुटकी, सतुवा, कुटलगायतका लगाएको १६ प्रकारका बिरुवाबाट उत्पादन दिन थालेको उनको भनाइ छ । समुद्र सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा आयुर्वेदिक गुणयुक्त त्यस्ता बिरुवा लगाएका उनले बगैँचा रेखदेखका लागि एक परिवारलाई रोजगारीसमेत दिएको छ । गुरुङले व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका दुले र मादी नदी किनार आसपासमा गरी करिब १०० रोपनी क्षेत्रफलमा विभिन्न जातका बाँसको खेती गरेका छन् ।
मोटा, नियाले, धनु, लठ्ठी, कालो, पहेँलो, झगडिया, तामा खानेलगायतका २२ प्रजातिको बाँस लगाएको किसान गुरुङको भनाइ छ । भारतको कानपुरबाट बिएससी एजी गरेका गुरुङले जागीरभन्दा कृषि पेसालाई प्राथमिकता दिएर व्यावसायिकरुपमा यस क्षेत्रमा लागेको हो । रेष्टुराँ तथा होटलमा सुन्दरताका लागि साना किसिमका बाँस र भवन निर्माणका लागि ठूला खालको बाँस खरिद गरेर लाने गरेको उनको भनाइ छ । एघार किसिमका बाँस प्रतिबिरुवा रु एक हजारमा बिक्री हुने गरेको उनले बताए ।
उनका अनुसार वार्षिक रुपमा करिब रु ३० लाख मूल्य बराबरको बाँस र बाँसका बिरुवा बिक्री हुने गरेको छ । उनले भने, ‘जागीर भनेर बसेको भए यति राम्रो प्रगति हुने थिएन होला ।’ त्यसैगरी गुरुङले करिब १०० रोपनी क्षेत्रफलमा उगरउडका बिरुवा लगाएको छ । करिब २० वर्षअघि ५०० उगरउडका बिरुवा लगाएका गुरुङको बारीमा हाल २५० ठूला बिरुवा र करिब तीन हजार साना बिरुवा छन् । अहिले प्रतिबिरुवा रु दुई लाखसम्म खरिद गर्ने मानिस आउने गरेको उनको भनाइ छ । अगरउडबाट अगर निस्किन थालेपछि सुनभन्दा महँगो मूल्यमा बिक्री हुने बताइएको छ ।
साथै अगरउड अत्तरका लागि पनि प्रयोग गर्न सकिन्छ । त्यसैगरी अगरउड क्यान्सर, अल्सर, छालाजन्य रोग, आँखा, कान, नाकलगायतका उपचारमा लाभदायक हुने गरेको किसान गुरुङको भनाइ छ ।