धरान । विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् ।
सोमबार विराट अस्पतालमा उनले ९० औं रक्तदान गरेका हुन् । विराट अस्पतालमा उपचाररत उर्लाबारीका सञ्जय माझीका लागि रक्तदान गरेका थिए । उर्लाबारी–४ बरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परी माझी घाइते बनेका थिए । उनलाई ए पोजेटिभ रगत आवश्यक परेपछि श्रेष्ठले रक्तदान गरेका हुन् ।
उनले तीन तीन महिनामा रगत दान गर्दै आएका छन् । यसअगि उनले वैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि रक्तदान गरेका थिए । व्यवसायी श्रेष्ठले एक सय पटक रगत दान गर्ने आफ्नो मनसाय रहेको बताए ।
विराटनगरमा सय पटकभन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ । नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । मैनाली अमेरिकामा छन् । उनले हालसम्म १९९ पटक रक्तदान गरेका थिए ।