भद्रपुर । झापाको बिर्तामोडस्थित एक होटलमा कोभिडविरुद्धको खोप लुकाइएको घटनामा त्रुटी भएको भन्दै छानबिन समितिले कारबाहीको लागि सिफारिस गरेको छ ।
तीन साता लगाएर छानबिन समितिले सोमबार छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले स्वास्थ्य कार्यालय झापाबाट २०७८ साउन १५ गते बिर्तामोड नगरपालिकालाई पठाएको १०३ भाईल खोप बुझ्ने स्थल र प्रकृयामा गम्भीर त्रुटी भएको देखिएकोले खोप बुझाउने र बुझ्ने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ ।
समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको समितिले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई खोप छानविनको प्रतिवेदन बुझाएको हो । समितिका संयोजक रिमालले होटलमा खोप बुझनु चरम लापरबाही भएको बताएका छन् ।
स्वास्थ्य कार्यालय झापाले बिर्तामोड नगरपालिकालाई १०३ भाईल भेरोसेल खोप पठाउने क्रममा विर्तामोड नगपालिका स्वास्थ्य शाखाका प्रमुख ओम बहादुर खडकाले होटलमा लुकापछि घट्ना सार्वजनिक भएको थियो ।
बिर्तामोडस्थित टाईमलेस मुमेन्ट होटलमा कोभिड– १९ बिरुद्धको चाईनिज खोप भेरोसिलको १०३ (एक सय तीन) भाईल खोप शंकास्पद अवस्थामा फेला परेको सम्बन्धमा छानविन गर्न गठित समितिले स्थलगत भ्रमण, सोधपुछ, श्रव्य दृष्य प्रमाण संकलन, स्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिका कार्यालयको कम्प्युटर प्रणाली लगायत अभिलेखहरुको अध्ययन तथा विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ ।
बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सन खड्का लगायत नगरपालिकाको कर्मचारी, टाईमेस मुमेन्ट होटलका संरक्षक एवं कर्मचारी तथा स्वास्थ्य कार्यालय झापाको कर्मचारीहरुको घटना विवरण कागजबाट खोप दुरुपयोग गर्ने मनसाय नभएको स्पष्टिकरण दिएता पनि महामारीको समयमा खोप जस्तो मानिसको जीवनसंग सम्बन्धित, मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटल जस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट दुवानी गरी पुर्याउनु र उक्त खोप फोकल पर्सनले बुझेपश्चात सोही जिल्ला स्वास्थ्य कार्यालयको गाडीमा राखेर नगरपालिका पुर्याउने अवस्था रहँदा रहँदै होटलका कर्मचारीलाई खोप जिम्मा लगाई आफू अन्यन्त्र हिड्नु जस्तो अत्यन्त गैर जिम्मेवारी र चरम लापरवाही गरिएको देखिएको समितिको ठहर छ ।
फोकल पर्सन खड्काले खोप लिनलाई गाडी बोलाईएको भने तापनि तत्काल खोप ढुवानीका लागि गाडी नबोलाएर केही समयपश्चात मात्र गाडी बोलाएको देखिएको, होटलमा भिडभाड भई प्रहरीको गाडी आएपश्चात मात्र नगरपालिकाको गाडी आएको देखिएकोमा पहिले मौखिक रुपमा र पछि पत्र मार्फत खोप माग गरिएको देखिएकाले चालक र सहचालकलाई खोप लगाउने लिखित निर्णय नै नभई १००० भाईल खोप माग गर्नु र पत्र प्राप्त भएपछि खोप पठाएको जानकारी गराउनु तर पत्र चलानी १७ गते मात्र भएको देखिनु उक्त पत्र स्वास्थ्य कार्यालयमा दर्ता भएको नदेखिनु समितिले तयार पारेको प्रतिवेदनमा छ ।