पथरीशनिश्चरे । विराट नेपाल मेडिकल ट्रष्टले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सतर्कताका लागि मोरङ जिल्लाका १४ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
यस क्रममा ट्रष्टले सोमबार पथरीशनिश्चरे नगर अस्पतालका लागि २० थान पीपीइ, ३० थान फेसशिल्ड, ५० थान हेण्ड सेनिटाइजर, ५० थान केएन नाइन्टीफाइभ मास्क, ३ सय थान सर्जिकल मास्क र ३ सय थान सर्जिकल ग्लोब्स प्रदान गरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी, ट्रष्टका जिल्ला कार्यक्रम संयोजक पुनम बिष्टले नगर प्रमुख दिलीपकुमार राई, डाक्टर फरिन्दा गुरुङ सहितलाई सामग्री हस्तान्तरण गरेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय समेतको सहकार्यमा ट्रष्टले उर्लाबारी, बेलबारी, सुन्दरहरैंचा, कानेपोखरी, रंगेली, रानी, झुर्किया सहितका स्वास्थ्य केन्द्रमा सामग्री वितरण गरेको छ ।
यसैबीच, कारितास नेपालमार्फत पथरीशनिश्चरे नगरपालिकाले संक्रमण भएको १० दिन भित्रका कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम सोमबार वडा नम्बर ५,६ र ७ मा सम्पन्न भएको छ । नगर उपप्रमुख यमुना बिष्ट वास्तोला, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, ७ नम्बर वडा सदस्य बिर्खबहादुर पिठाकोटे मगर (विरोज), स्वास्थ्य शाखाका जगतप्रसाद मगर सहितले सामग्री वितरण गरेका हुन् ।
कारितास इन्टरनेशनलको सहयोगमा कारितास नेपाल दमकमार्फत संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न सीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य सामग्री वितरण कार्य गरिएको हो ।
जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्डवास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको छ । सामग्री सहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रिमितहरु खुसी बनेका छन् ।