समाचार फलोअफ

पथरी । अवैध रूपमा रुख ढालिएको विषयमा सव डिभिजन वन कार्यालय बेलबारीले बल्ल अनुसन्धान सुरु गरेको छ । 

लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिले अनुमतिविनै वन क्षेत्रका रुख कटान गरेको ब्लाष्टले प्रकाशित गरेको थियो । समितिका अध्यक्ष सुजय गौतमलगायतलाई वयान लिन थालेको हो । 

मोरङ बेलबारी ११ स्थित वनले रुख ढालेको विषयमा किरात धर्म संरक्षण समितिले उजुरी गरेको थियो । उजुरी परे पनि कारबाही अगाडि नबढाएको विषयमा ब्लाष्ट दैनिकले साउन ३१ ग्ते समाचार प्रकाशित गरेको थियो । 

वन कार्यालयका अनुसार अध्यक्ष सुजय गौतम, उपाध्यक्ष जितेन्द्र न्यौपाने, कोषाध्यक्ष तेजबहादुर दाहाललाई बयान लिइएको वन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्रले जानकारी दिए । 

उजुरी परेपछि डिभिजन वन कार्यालय मोरङले रेञ्जर राजेन्द्र घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो । सावउले १० वटा सिसौ, मसलाका रुख कटान गरेको पाइएको थियो । करिव ५३ क्युफिट काठ बरामद गरिएको थियो । 

वनका पदाधिकारीले भने वन कार्यालयकै प्रयोजनका लागि रुख कटान गरिएको दाबी गरेको थियो ।