झापाको विर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ । 

उपकरण सञ्चालन नहुँदा त्यस्ता बिरामीे महँगो खर्च गरेर भारतमा उपचारका जाने बाध्य भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद गर्न अनुमति दिए पनि सञ्चालनका लागि अनुमति नदिँदा त्यतिकै थन्किएको छ  । कानून बन्न ढिलाइ गरेकाले अस्पतालले क्यान्सर बिरामीको उपचारका लागि ल्याएको उक्त उपकरण सञ्चालनमा समस्या परेको अस्पतालका निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । 

७० करोडमा खरिद गरिएको उपकरणमा २४ घण्टा वातावरणनुकूलतामा राख्नुपर्ने हुन्छ । उपकरण सञ्चालन नआउँदा मासिक २० लाख बैंकसहित अन्यमा खर्च भइरहेको छ । उपकरण सञ्चालनका लागि समेत न्यूक्लियर मेडिसिन चिकित्सकसमेत अस्पतालले एक वर्षदेखि तलब खुवाएर राखिसकेको छ । उपकरण सञ्चालन नभएपछि त्यतिकै ति चिकित्सक बसिरहेका छन् । 

पोखरा, चितवन, काठमाडौँलगायत ठाउँबाट बिरामी अस्पतालमा पेट सिटीस्क्यान उपकरण छ भनेर अस्पतालमा आउने गरेता पनि ती बिरामीलाई उपचार गर्न नपाएको अस्पतालका निर्देशक डा यादवले बताए । 

पेट सिटीस्क्यानका लागि क्यान्सरका बिरामी उपचारका लागि कलाकत्ता, नयाँ दिल्ली जाने गर्दछन । भारत जाँदा करिब पाँच लाख रुपैयाँ खर्च हुने गरेको छ तर नेपालमा अस्पतालले उपकरण सञ्चालनको अनुमति पाए आफूहरुले एक बिरामीको ६० देखि ७० हजारमा उपचार गर्ने उनको भनाइ छ ।

दक्षिणपूर्वी नेपालमा रहेको क्यान्सर अस्पतालमा स्थापना भएपछि नेपालसहित भारतबाट पनि बिरामी उपचार गर्नका लागि आउने गरेका छन् । अस्पतालमा निर्देशक डा यादव नेतृत्वमा डा प्रियङ्का कटुवालसहितको नौ सदस्यीय विशेषज्ञ टोली कार्यरत छ ।