भद्रपुर । झापामा लागूऔषधका घटनामा वृद्धि भएको छ । एक महिनाको अवधि अध्ययन गर्दा गत आर्थिक वर्षको तुलनामा झापामा लागूऔषधका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । 

गत आर्थिक वर्षमा ३०७ जना लागूऔषधका घटनामा संलग्न पक्राउ परेका थिए । त्यसको अघिल्लो वर्ष २०७६–२०७७ मा १९१ जना पक्राउ परेका थिए भने आर्थिक वर्ष २०७५–०७६ मा २०० जना पक्राउ परेका थिए । त्यसै गरी लागूऔषध मुद्दा दर्ता सङ्ख्यालाई हेर्दा २०७५–०७६ मा १२५ , २०७६–०७७ मा ११८ र २०७७–०७८ मा १९५ वटा दर्ता भएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

चालुआर्थिक वर्षको पहिलो साउन महिनामा लागूऔषधमा संलग्न दुई महिलासहित ३१ जना पक्राउ परेको उनले जनाए । उनीहरूविरुद्ध २१ वटा मुद्दा दर्ता भएको उनले बताए । पक्राउ परेकाको साथबाट ७ सय ग्राम गाँजा र १८० ग्राम ९४० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । त्यसबाहेक अन्य लागूऔषध पनि बरामद भएको थियो । एक महिनाको अवधिलाई हेर्दा गत आर्थिक वर्षको तुलनामा झापामा लागूऔषधका घटनामा वृद्धि भएको उनको भनाइ छ । 

तीन वर्ष र चालु आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा झापामा लागूऔषधको प्रयोग र कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ । आर्थिक वर्ष २०७५–०७६ को तुलनामा २०७६–०७७ मा लागूऔषधसम्बन्धी मुद्दा ६ प्रतिशतले कमी आएको थियो तर आर्थिक वर्ष २०७६–०७७ को तुलनामा २०७७–०७८ मा लागूऔषधसम्बन्धी ६५ प्रतिशतले बढी मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । मानिस पक्राउ समेत वृद्धि भएको उनले जनाए । 

भारतसँग खुल्ला सिमाना भएका कारण सिमावर्ती झापामा लागूऔषध कारोबार समस्या बन्दै गएको प्रहरीको अनुमान छ  । लागूऔषधमा संलग्नहरूको पक्राउ र मुद्दा दर्ता सङ्ख्याले नै भयावह बन्दै गएको जिल्लाका एसपी सानुराम भट्टराईले बताए । झापामा कडा खाल्का लागूऔषध प्रयोगकर्ता बढी देखिएको उनले बताए । 

अन्य महिनाको तथ्याङ्कलाई समेत हेर्दा भदौ महिनाको पहिलो दिन झापाबाट एकैदिन ६ जना ब्राउनसुगरसहित पक्राउ परेको उनले जनाए । बिर्तामोडका तीन स्थानबाट दुई महिलासहित ६ जना ब्राउनसुगरसहित पक्राउ परेको उनको भनाइ छ ।