धरान । पन्ध्र दिन नबित्दै मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा फेरि अर्का बिरामीको लापरबाहीका कारणले उपचारको क्रममा मृत्यु भएको छ ।
खुट्टा भाँचिएर आएका विराटनगर ७ का ५२ वर्षीय जनकसिंह बस्नेतको उपचारको क्रममा बिहीबार साँझतिर मृत्यु भएको हो । मृत्युपश्चात् अस्पताल तनावग्रस्त बनेको छ । बिरामीका आफन्तले घटनामा संलग्न चिकित्सक र अस्पताललाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।
यसअगि साउन १८ गते मोरङ धनपालथान गाउँपालिका–६ का अमहद हुसेन मियाँको उपचारका क्रममा मृत्यु भएको थियो । सामान्य पिलो भएर उपचारका लागि आएका उनको उपचारको क्रममा शल्यक्रियापश्चात् निधन भएको थियो । तत्कालीन समयमा बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।
बस्नेतलाई ग्यास बोक्ने ना ७ छ ३१३ नम्बरको कन्टेनरले ठक्कर दिँदा बायाँ खुट्टा र हातमा चोट लाग्न पुगेको थियो । खुट्टा भाँच्चिएका बस्नेतलाई आकस्मिक कक्षबाट सिधै आइसियुमा भर्ना गरिएको थियो । सामान्य अवस्थाका भाइको एकाएक मृत्यु भएको भनी चिकित्सकले बताउँदा आफू अचम्ममा परेको मृतकका दाजु पुष्पराजले जानकारी दिए । चिकित्सकले उपचारको क्रममा दुई युनिट रगत माग गरेका थिए ।
उक्त रगत पुर्याउने क्रममा चिकित्सकले जनकसिंहको मृत्यु भइसकेको भनी जनाउ दिएको उनले बताए । उनले खुट्टा भाँचिएका भाइको मृत्यु चिकित्सकको लापरबाहीले नै भएको दाबी गरे । लापरबाहीमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेपछि अस्पताल तनावग्रस्त बनेको हो ।
पन्ध्र दिनकै अवधिमा अर्को घटना घट्नुलाई निकै संवेदनशील तरिकाले हेरिएको छ । अस्पतालमा प्रहरी तैनाथ गरिएको छ । यता गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले दुर्घटनामा परेका बिरामीको अत्यधिक रक्तश्राव भएपछि समयमै रगत उपलब्ध हुन नसक्दा बिरामीको ज्यान गएको दाबी गरे । गम्भीर चोट लागेकाले पनि तत्काल रगत आपूर्ति गर्न नसक्दा समस्या भएको उनले बताए ।