बराहक्षेत्र/ तीन दिन देखी हराइरहेका धरान ११ सुनौलो मार्गका ४५ वर्षीय लक्ष्मण अधिकारी मृत फेला परेका छन् ।
भदौ १ गते देखी हराएका अधिकारीको आज बिहान १० बजेर ३० मिनेटमा बराहक्षेत्र नगरपालिकाको वडा ९ मा पर्ने सप्तकोशी नदीको २६ नम्बर चेन नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार धरान १७ पटनालीस्थित ज्वालामुखी माविका शिक्षक अधिकारीको को ११ प ४५३९ नम्बरको मोटरसाइकल, ज्याकेट, हातेझोलामा नागरिकता बैकिङ कागजात तथा सुसाइड नोट बराहक्षेत्र ८ शुक्रबारेमा फेला परेको थियो ।
उक्त कागजात तथा सोसाइट नोट भेटेसंगै बेपत्ता भएको उनको खोजिकार्य गर्दा हराएको स्थानबाट ३ किलोमिटर दक्षिणमा शव फेला परेको हो ।

कोशी बाँधमा सामान फेला परेपछि शिक्षक अधिकारीले कोशीमा हाम्फालेर आत्महत्या गरेको अनुमान गरिएको थियो ।
मृतक शिक्षकसँगै गायक तथा गीतकार पनि हुन् । धरान संगीत प्रतिष्ठानमा पनि उनी आवद्ध थिए । मृतकको शवलाई मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि वीपी प्रतिष्ठान धरान पठाएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।