धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत क्यान्सर विशेषज्ञ (अङ्कोलोजिष्ट) डा. सोनिया दुलालको पहलमा अमेरिकाको वेस्टर्न क्यान्सर इन्स्टिच्यूट टेनेसीबाट प्राप्त १ सय ७१ थान अक्सिजन कन्सण्ट्रेटर पूर्वका ३३ कोभिड सेण्टरमा वितरण गरिएको छ ।
डा.दुलालले नेपालमा बढ्दो कोरोना सङ्कटका लागि टेनेसीस्थित चिकित्साशास्त्रका आफ्ना गुरु डा. मार्टिनसँग आग्रह गरेपछि ती मेसिन प्राप्त भएको हो । प्रदेश १ का विभिन्न जिल्लामा स्थापना गरिएका ३३ कोभिड अस्पतालमा १ सय ७१ अक्सिजन कन्सण्ट्रेटर मङ्गलबार वितरण गरिएको डा. दुलालले बताइन् । कोरोना महामारीमा अक्सिजन अभावले सङ्क्रमितको ज्यान बचाउन अक्सिजन कन्सण्ट्रेटर वितरण गरिएको उनले बताइन् ।
प्रतिमिनेट पाँच लिटर अक्सिजन उत्पादन गर्ने उक्त मेसिन पूर्वका प्रत्येक कोभिड सेण्टरमा ३ देखि ५ वटासम्म र केही जिल्ला अस्पतालहरूलाई आवश्यकताअनुसार वितरण गरिएको प्रतिष्ठानका बाथरोग विशेषज्ञ डा. विवेक कट्टेलले बताए । उनका अनुसार बिरामीको चापको अनुपात अनुसार प्रतिष्ठानको इमर्जेन्सी विभागलाई आवश्यकताअनुसार १० वटा प्रदान गरिएको छ ।
उनले भने, ‘कोभिड अस्पताललाई पनि आवश्यकताअनुसार अक्सिजन कन्सण्ट्रेटर उपलब्ध गराउने तयारी हुँदैछ ।’ कोभिड अस्पतालमा सम्भवतः २० वटा कन्सण्ट्रेटर प्रदान गरिने बताइएको छ । प्रतिष्ठानमा जडान भएका अक्सिजन प्लाण्टबाट उत्पादन भएका अक्सिजनलाई पाइपलाइनमार्फत् विभिन्न वार्ड र कोभिड अस्पतालमा पु¥याइए पनि दैनिक ५ देखि १० पटकसम्म केही छिनका लागि रोकिने समस्याको सुधार हुन नसक्दा कतिपयले थाहै नपाई ज्यान गुमाउने गरेका छन् ।
गतसाता मेसिन प्राप्त भएपछि प्रत्येक जिल्लाका कोभिड सेण्टर पहिचान गरेर दुरुपयोग हुन नदिन मेसिनमै नाम लेखिदिएर तयार गरी वितरण गरिएको थियो । डा. सोनियाका अनुसार भोजपुर, सङ्खुवासभा, सुनसरी, धनकुटा, ओखलढुङ्गा, खोटाङ, उदयपुर, इलाम, झापालगायतका कोभिड सेण्टरमा अक्सिजन कन्सण्ट्रेटर पठाइएको छ ।
प्रतिष्ठानका मेडिसिन विभाग प्रमुखसमेत रहेका हर्मन रोग विशेषज्ञ डा. रोविन मास्केले अक्सिन अभाव भइरहेको बेला कन्सण्ट्रेटर पठाएर सहयोग गर्ने अमेरिकी चिकित्सक डा. मार्टिन र उनको संस्थालाई धन्यवाद दिएका थिए ।
प्रतिष्ठानका मेडिसिन विभागका मुटु र मिर्गाैला रोग विशेषज्ञ डा. सञ्जीव शर्माले अस्पतालको पहुँच नभएका दुर्गमका बिरामीका लागि उक्त मेसिनले अक्सिजन आपूर्तिमा मद्दत गर्नुका साथै प्रतिष्ठानको कोभिड अस्पतालमा चाप कम हुने बताए ।