ताप्लेजुङ/ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ स्थित चाँगे स्वास्थ्य चौकीको भवन समयमा निर्माण नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मीलाई सास्ती भएको छ । निर्माण सम्झौता भएको सात वर्ष पुग्नै लाग्दा पनि भवन नबनेपछि वर्षौँ पुरानो र साँघुरो भवनबाट असहजरूपले स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । ठेकेदारको लापरवाहीका कारण समयमा भवन निर्माण हुन सकेको छैन । 

दुई वर्षभित्रै निर्माण कार्य सक्ने गरी हिमालयन/कबिर जेभीले निर्माणको जिम्मा लिएको थियो तर सम्झौता भएको यतिका समय बितिसक्दा भवन निर्माणले पूर्णता नपाउँदा सेवाग्राही र स्वास्थ्यकर्मीले सास्ती खेप्नुपरेको छ । 

‘पुरानो र साँघुरो भवनबाट स्वास्थ्य सेवा दिइरहेका छौँ, बिरामीको चाप बढे शय्या जोडेर राख्नुपर्छ, बर्थिङ सेन्टरका लागि व्यवस्थित ठाउँ नहुँदा प्रसूतिका लागि आएका गर्भवतीलाई असहज हुने गरेको छ, प्रशासनिक काम गर्ने ठाउँ छैन, स्वास्थ्य सामग्री र उपकरण राख्नलाई पर्याप्त ठाउँ छैन’, स्वास्थ्य चौकीका इञ्चार्ज विजयकुमार शाहले भने । उनका अनुसार दैनिक १५ देखि २० बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् भने वार्षिक ६० भन्दा बढीले प्रसूति सेवा लिने गरेका छन् । साँघुरो भवन भएकाले बिरामी र स्वास्थ्यकर्मीलाई असहज हुँदै आएको शाहले बताए । 

एक तले कच्ची भवनमा चार वटा कोठा छन् भने बाहिरको भागलाई बारेर बिरामी जाँच गर्ने ठाउँ बनाइएको छ । ठूलो वर्षाका समयमा भने पानी चुहिने भएकाले थप समस्या हुने गरेको छ । यता विभिन्न बहानाबाजी गरेर पन्छिने गरेको निर्माण पक्षले भने कामलाई तीव्रता दिन नसकेको स्थानीयवासीको आरोप छ ।

‘सम्झौता भएको लामो समयसम्म काम नै सुरु भएन, पछि अलिअलि गरेको देखियो, बीचमा पूरै ठप्प थियो, आजकल गरेको जस्तो देखिए पनि आलटाल भइरहेको छ’, स्थानीय समाजसेवी उदय आङ्बुहाङले भने । समयमै भवन नबनेकोमा उनले दुखेसो गरे । स्वास्थ्य संस्थामा आफूहरुको पहलमा जुटेका अक्सिजन सिलिण्डरसहित कोभिड विरुद्धका स्वास्थ्य सामग्री राख्ने पनि ठाउँ नहुँदा दुःख लागेको उनले बताए । 

निर्माण पक्षले समयमा काम नगरेपछि यसअघि ठेक्का तोड्ने प्रयास भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का तोड्ने तयारी गरेको बुझेपछि बल्ल निर्माण पक्षले सम्पर्कमा आएर काम अघि बढाउने जनाएको थियो । त्यसपछि काम भइरहे पनि तीव्र गतिमा अघि बढ्न सकिरहेको छैन । 

अहिले करिब ६० प्रतिशत काम भएको र लगातार काम गरी चाँडो सम्पन्न गर्न ताकेता गरिरहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाका कार्यालय प्रमुख राजेन्द्र खतिवडाले बताए । ‘सँगै सुरु भएको हाङ्पाङस्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ, दुवै ठाउँका भवन एकै निर्माण कम्पनीबाट भइरहेको हो, दुई÷दुई दिनभित्रै रेखदेख र अनुगमनका लागि इञ्जिनीयर पठाउँछौँ’, खतिवडाले भने । उनका अनुसार चाँगेको हकमा भने प्रगति हेरेर काम निरन्तर अघि बढाउने वा ठेक्का तोड्ने भन्ने विषयको टुङ्गो लाग्ने छ ।  

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाम र निर्माण पक्षबीच २०७१ कात्तिक २५ गते निर्माण सम्झौता भएको थियो । डिभिजन कार्यालयका प्राविधिकको प्रत्यक्ष रेखदेख र निर्देशनमा रही २०७३ वैशाखभित्र सम्पन्न गर्न सम्झौता भएकै दिन कार्यालयले कार्यादेश दिएको थियो ।