पानवारी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा बिरामीको अत्यधिक चापका कारण उपचारमा समस्या भएको छ । कम्तिमा पनि ७२ घण्टा अब्जरवेशनमा रहनुपर्ने पोइजनिङ केश (विष सेवन गरेका बिरामी) लाई समेत प्रतिष्ठानको इमरजेन्सी वार्डबाट १६ घण्टा नबित्दै जबरजस्ती घर पठाइएको छ । धरान–५ बाट विष सेवन गरेका एक ५५ वर्षीयलाई उपचारको लागि मङ्गलबार बिहान करिब ९ बजे प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरे पनि बुधबार दिउँसो ११ बजेपछि प्रतिष्ठानमा वार्ड खाली नभएको भन्दै अन्यत्र रेफर गरिएको थियो । विष सेवन गरेका उनलाई छिमेकीले अस्पताल ल्याएका थिए । उनका छिमेकीले भने, ‘विष सेवन गरेपछि उनलाई उपचारको लागि ल्याएका थियौं । बीपीमा बेड छैन अन्तै लैजान भनेर बारम्बार भनेपछि नजिकैको विजयपुर हस्पिटल लगेका थियांै, त्यहाँ विष सेवन गर्नेको उपचार हुँदैन भनेपछि पुनः बीपीमा उपचारको लागि लगे पनि भर्ना गर्न नमानेपछि हामी बाध्य भएर बिरामीलाई घर लैजाँदैछौं ।’ विष सेवनपछि पनि गम्भीर असर नदेखिए पनि त्यस्ता बिरामीलाई अब्जरवेशनको लागि राख्नुपर्ने हुन्छ । तर बीपी प्रतिष्ठानको वार्डमा बिरामीको चाप धेरै भएकोले बेड भर्ना गर्न नसक्ने भन्दै ‘अर्काे व्यवस्था गर्नू’ भनेपछि बिरामीलाई घर लैजानु परेको छिमेकीले बताएका छन् । त्यस्तै धरान–६ बाट पनि मङ्गलबार राति ९ बजे विष सेवन गरेकी महिलालाई प्रतिष्ठानको इमरजेन्सी वार्ड भर्ना गरे पनि वार्डमा बेड खाली नभएको भन्दै घर लैजान बाध्य पारिएको छ । बिरामीकी आफन्तले भनिन्, ‘डाक्टरले बिरामीलाई घर लैजान हुँदैन अब्जरवेशनमा राख्नुपर्छ पनि भन्छन्, फेरि यहाँ ठाउँ छैन तुरुन्त कुन अस्पताल लैजाने हो, लगिहाल्नू पनि भन्छन् । अब हामीले कता लैजाने ? एउटा कागजमा राजीखुसीले घर लगेको भनेर सही गर्न लगाए र हामीलाई घर पठाए ।’ यी त प्रतिनिधि बिरामी मात्रै हुन् । बीपीको इमरजेन्सी वार्डबाट विगत २ हप्तादेखि धेरै बिरामी अन्यत्र रेफर भइरहेका छन् । बीपीको इमरजेन्सी वार्ड ६० बेड क्षमताको हो । मङ्गलबार बिहान ८ बजेदेखि शुक्रबार बिहान ८ बजेसम्म २४ घण्टाको समयमा मात्रै १ सय १० जना बिरामी इमरजेन्सी वार्डमा भर्ना भए । इमरजेन्सीबाट वार्डमा सार्नुपर्ने बिरामी सार्न नसक्दा झनै भीड बढेको इमरजेन्सी इञ्चार्ज डा. ज्ञानेन्द्र मल्लले जनाए । उनले कुनै बिरामीलाई आफूहरूले अन्तै जाऊ नभनेको दाबी गर्दै दिउँसोको समयमा अस्पतालको अवस्था बारे बिरामीका आफन्तलाई जानकारी दिने गरेको बताए । उनले भने, ‘हामी दिउँसोको समयमा अस्पतालमा यस्तो अवस्था छ, तपाईंहरू यस्तै अवस्थामा उपचार गराउने हो वा अन्य लैजाने हो भनेर सोध्ने गरेको तर कसैलाई जबरजस्ती अर्काे अस्पताल वा घर पठाएका छैनौं ।’ मेडिसिन विभागले भर्ना नगर्दा समस्या बीपी प्रतिष्ठानको मेडिसिन विभागले लिफ्ट बिग्रेको कारण देखाउँदै तेस्रो तलामा अवस्थित ३५ बेड क्षमताको युनिट २ मा बिरामी भर्ना नगरेपछि बीपीमा गएका बिरामी अन्यत्र रेफर हुन बाध्य भएका छन् । करिब ४–५ महिना अघिदेखि लिफ्ट बिग्रिए पनि प्रशासनले त्यसको मर्मतमा चासो नदेखाउँदा समस्या थपिएको हो । स्रोतका अनुसार अस्पताल प्रशासनले ४–५ महिनासम्म लिफ्टको मर्मत नगरेपछि मेडिसिन विभागले अस्पताल प्रशासनलाई लिफ्ट बनाउन दबाव दिनको लागि युनिट २ मा बिरामी भर्ना नगरेको हो । विभागले लिफ्ट नबनुन्जेलसम्मको लागि मेडिसिन २ मा राखेर बिरामीको उपचार गर्न नसक्ने भनी लिखित रूपमा अस्पताल प्रशासनलाई जानकारी दिइसकेको छ । मेडिसिन विभाग प्रमुख डा. सञ्जीव शर्माले भने लिफ्ट बिग्रिएकोले युनिट २ मा बिरामी राखेर उपचार गर्न नसकेको बताए । ‘बिरामीलाई तत्काल त्यहाँबाट अन्यत्र लैजान नसकिने भएकोले उपचार गर्न नसकिएको हो’–उनले भने । उता अस्पतालका प्रवक्ता पशुपति चौधरीले भने लिफ्ट २ दिनभित्रमा बनिसक्ने बताएका छन् ।