भद्रपुर । झापामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह चुनाव प्रचार–प्रसार समितिको संयोजक रहेर निर्वाचन गतिविधि गरेपछि आचारसंहिता उल्लङ्घन भएको पाइएको हो ।
गाउँपालिका अध्यक्ष शाह चुनावी घरदैलो र कोणसभामा सहभागी भएको भन्ने उजुरी परेपछि सचेत गराइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । नेपाली काँङ्ग्रेसका क्षेत्रीय सभापति समेत रहेका शाह गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुँदै आएकोले गुनासो आएको जिल्ला निर्वाचन अधिकारी नेपालले बताए ।।
चुनाव आउन ३३ दिन मात्र बाँकी रहँदा जिल्लामा आचारसंहिता उल्लङ्घनको घटना बढी रहेका छन् । आचारसंहिता उल्लंघन गर्नेहरुलाई निर्वाचन कार्यालयले सचेत गराएको उनले जनाए । जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा हिड्न निर्वाचन आयोगले प्रतिबन्ध लगाएको उनले जनाए ।
यस्तै उम्मेदवार मनोनयनका दिन दलका र स्वतन्त्र उम्मेदवारहरुले ठूलो सङ्ख्यामा भीडभाड गरेको , झाँकीमा बालबालिका प्रयोग गरेको र बाजागाजा प्रयोग गरेर आचारसंहिता उल्लङ्घन गरेको पाइएकाले त्यसतर्फ सबै उम्मेदवारहरुलाई सचेत गराइएको आचारसंहिता अनुगमन अधिकृत मधुकर पोखरेलले बताए । निर्वाचनको १७ दिनअगाडि मात्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । तर, झापामा चुनाव चिह्न पाएकै दिनदेखि उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा लागेका छन् ।
निर्वाचन आयोगले प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ । सो जिम्मेवारी पाएका पोखरेलले आचारसंहिता उल्लङ्घनका साधारण छिटपुट घटनाहरु भएको बताउँदै त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी दिए ।