विराटनगर । मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेको मध्ये एक जना पुरुषको पहिचान खुलेको छ । बिहीबार दिउँसो उत्खनन गरेर निकालिएको सुनसरीको धरान ३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
प्रहरीले उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको एसपी जिसीले जानकारी दिए । सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी रहेको छ ।
बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । उनको हत्या गरेपछि ७ फिट गहिरो खाडल खनेर शव गाढेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ । बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाढेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए ।
उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा पुरुषको शव भेटिएको थियो ।
एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्निफिङ गराइएको छ ।
घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बिचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डिएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ ।