धरान । सुनसरी र उदयपुरका छुट्टाछुटै स्थानमा दुर्घटना हुँदा बुधबार तीनजनाको ज्यान गएको छ ।
सुनसरीको इटहरी २ बरगाछी चोकस्थित कोशी लोकमार्गमा फोहोर बोक्ने ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा सोही ठाउँकी ४० वर्षीय नीरा प्रधानको मृत्यु भएको हो । को २ त ५३१७ नम्बरको ट्याक्टरले बाटो क्रस गर्दै गरेको को ३० प ६२१७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा प्रधान गम्भीर घाइते बनेकी थिइन् । उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्जु गाउँपालिका २ मा को १८ प २७६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट तल खस्दा बर्जु गाउँपालिका ५ का २८ वर्षीय राजेश यादवको मृत्यु भएको छ । विराटनगर देवानगञ्ज सडक खण्डको कल्र्भटमा ठोक्किएर सडकबाट ७ मिटर तल खस्दा उनी गम्भीर घाइते बनेका थिए । गम्भीर बनेका उनलाई विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
यसै गरी उदयपुरको बेलका नगरपालिका ९ मा मोटरसाइकललाई पिकअपले ठक्कर दिँदा बेलका २ का ३९ वर्षीइ रामचन्द्र राईको मृत्यु भएको हो । स ४ प ९१०५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १ ०२ ००२ च ४८७४ नम्बरको पिकअपले ठक्कर दिएको थियो । गम्भीर घाइते बनेका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइए पनि उनको मृत्यु भएको हो । घटनामा संलग्न चालकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।