हत्या गरी खोलामा फालिएकी महिलाको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदै २५ गते झापा गाउँपालिका १ स्थित सानो माईखोलामा हत्या गरी पालिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।
तत्काल पहिचान नखुलेकी महिलाको शरीरको विभिन्न भाग टुक्रा परी पालिएको अवस्थामा प्रहरीले फेला पारेपछि अनुसन्धान थालेको प्रहरीले हत्यामा संलग्न ४ जनालाई बुधबार सार्वजनिक गरेको छ ।
अनुसन्धानका क्रममा हत्या गरिएकी महिला झापा गाउँपालिका १ माइती घर भई भारतको किसानगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षीया डोली भन्ने धोन्नी टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार मृतक महिलाको हत्यामा प्रत्यक्ष संलग्न रहेका उनका भाञ्जा भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने २३ वर्षीय ऐतवार सोरेन, मृतकको सौताको भाइ झापा गाउँपालिका १ बस्ने ३७ वर्षीय लखन टुडु सतारलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रत्यक्ष थाहा भए पनि घटना लुकाउन सहयोग गर्ने सोही ठाउँका ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतारलाई समेत पक्राउ गरेको कार्यालयले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको श्रीमान उनको हत्या हुनु भन्दा १५ दिन अघि मृत्यु भएको, मृतक र उनका देवर सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष अन्दाजी ४५ का मण्डल हेमरम ९सतार० बिच जग्गा सम्बन्धी विवाद हुने गरेको खुलेको कार्यालयले जनाएको छ ।
कार्यकालका अनुसार सन्तान नभएको तर सौतासमेत रहेकी धोन्नीलाइ सौताले बोक्सीको आरोप लगाउने गरेको अनुसन्धानमा खुलेको छ । घटनापछि उनका देवर भने फरार रहेका छन् ।
पक्राउ परेका चारै जनालाई असोज १ गते जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालये जनाएको छ ।