भद्रपुर / झापा प्रहरीले जुवा खालमा छापा मारेर १७ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकको टोलीले विशेष सूचनाको आधारमा मङ्लबार राती साढे ११ बजे दमक– १ स्थित हिमाल देवानको घर कम्पाउन्डको पछाडि पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा छापा मारेको थियो ।
प्रहरीले जुवा खालबाट भद्रपुर– ७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर– ९ का ४९ वर्षीय दिलबहादुर राई , भद्रपुर– १० का ५० वर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड– १ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह– ५ का ४५ वर्षीय हरि कोइराला, कमल– ४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कनकाई– ३ का ३२ वर्षीय मोहन बराल, सोही ठाउँका ३२ वर्षीय सुनिल साह, मोरङ् जिल्ला ग्रामथान– ४ का ५७ वर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान– ५ का ४२ वर्षीय नैन कुमार चौधरी, ग्रामथान– ६ का ४४ वर्षीय रुपेश तामाङ रहेका छन् ।
त्यस्तै पथरी शनिश्चरे– ४ का ४० वर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे– १ का ४३ वर्षीय गङ्गाराम मगर, बेलबारी– ११ का २१ वर्षीय निशान पोखरेल, दमक– ७ का ४९ वर्षीय कर्ण राई, सोही ठाउँका ४० वर्षीय राजन दाहाल र दमक– ३ का ३४ वर्षीय विनोद थेबे रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीले जुवा खालबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको उनले जनाए । नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।