सुनसरी । प्रहरीले लागूऔषध गाँजा तस्करी न्यूनीकरण गर्न अभियान चलाए पनि गाँजा तस्करी हुने क्रम रोकिएको छैन ।  

पहाडी जिल्लाबाट ल्याइने गाँजा सुनसरीका विभिन्न सीमा नाकाहुँदै तस्करहरूले अनेक जुक्ति अपनाएर भारततर्फ कटाउने गरेको पाइएको छ । सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करहरूले उनीहरूलाई छल्दै गाँजा तस्करी गराउँदै आएका छन् । सोही क्रममा प्रहरीले जिल्लाको कोसी गाउँपालिका–७ कोसी नदीको किनारबाट असोज १ गते साँझ ६० केजी गाँजा बरामद गरेको छ ।

सुराकीको आधारमा अस्थायी प्रहरी चौकी हरिपुरबाट परिचालित टोलीले खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको बोरा खोली चेकजाँच गर्दा उक्त बोराभित्र लागूऔषध गाँजा अन्दाजी  ६० केजी फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोसी नदीको फाइदा उठाउँदै धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट भारततर्फ गाँजा तस्करी हुने गरेको छ । कोसी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र कोसी बगरको बाटो हुँदै गाँजा भारततर्फ तस्करी गर्ने गरिएको स्रोत बताउँछ । पछिल्लो समय गाँजा तस्करी गराउने ‘ट्राञ्जिट पोइण्ट’ कोसी नदी बनेको पाइएको हो ।

नेपाल–भारत खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबारले सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसँगको खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार बढ्दै गएकाले यस्ता कारोबार रोक्न सुनसरी प्रहरीलाई चुनौती थपिएको हो ।

ठूलो परिमाणमा लागूऔषध र गाँजाको कारोबारी पक्राउ पर्न थालेपछि सुनसरीमा खुल्ला सीमाको फाइदा उठाएर यस्ता कारोबार भइरहेको पाइएको हो । खासगरी सुनसरीको सीमावर्ती क्षेत्रहरूमा लागूऔषधको कारोबार बढेको पाइएको छ । सीमावर्ती क्षेत्र लौकही, भण्टाबारी, घुस्की, कप्तानगञ्ज, लाही, श्रीपुर सहितका नाका प्रयोग गरी दिनहुँ दर्जनौं नेपाली युवाहरू भारतीय बजारहरूमा गएर लागूऔषधको सेवन गर्ने र लागूऔषधको कारोबार गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रका विभिन्न सीमा नाका हुँदा लागू औषधकर्ताको संख्या बढेकाले भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँचमा थप कडाइ गरेको छ ।

दुई महिनामै ८० जना पक्राउ

यसैबीच दुई महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न लागूऔषध कारोबारमा संलग्न रहेका ८० जनालाई पक्राउ परी कानूनी कारबाही गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म ब्राउनसुगर ४ सय ५८ ग्राम ४ सय ६५ मिलीग्राम बरामद गरेकोमा ३८ जनालाई कानूनी कारबाही गरेको छ भने २ सय १० केजी ८ सय ग्राम गाँजा बरामद गरेकोमा १० जना पुरुष र एकजना महिला गरी ११ जनालाई कारबाही गरिएको सुनसरी प्रहरीले बताएको छ । त्यसैगरी भारतीय बजारबाट लुकाएर ल्याइएको नेपालमा प्रतिबन्धित लागूऔषध नाइट्रोभेट १ हजार ९ सय ४१ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन २ हजार ८ सय १३ थान लगायत ठूलो परिमाणमा लागूऔषधसहित ३१ जनालाई पक्राउ गरी कानूनी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । त्यसैगरी प्रतिबन्धित औषधिसहित औषधि व्यवस्थापन विभाग पठाइएकोमा औषधि व्यवस्थापन विभागले अन्य तीनजना व्यक्तिलाई समेत कारबाही गरेको सुनसरी प्रहरीले जनाएको छ ।

नेपाली युवाहरू भारतको भीमनगर, वीरपुर, फुलकहालगायतका बजारमा गएर दिनहुँ लागूऔषध सेवन गर्ने र चेकजाँचमा पक्राउ पर्नेहरूलाई एसएसबीले नियन्त्रणमा लिई घण्टौंपछि मात्र छाड्ने गरेको छ । सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समय प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार गर्ने कारोबारीहरू धमाधम पक्राउ पर्न थालेको  एसपी थापा बताउँछन् । कारोबार रोक्न सक्रियताका साथ लागेकाले पछिल्लो समय लागूऔषध, हातहतियार, चोरीपैठारी, राजस्व छलीजस्ता गैरकानूनी कारोबार नियन्त्रणउन्मुख अवस्थामा रहेको उनले दाबी गरे ।