विराटनगर । विराटनगर–१६ स्थित भारत र नेपालको सीमाक्षेत्रमा रहेको ‘चाइना मार्केट’ हुँदै तस्करीको कपडा पूर्वका विभिन्न सहरमा जाने गरेको पाइएको छ ।
विराटनगरसहित पूर्वका विभिन्न सहरका कपडा व्यापारीहरूको पसलमा ‘क्यारिङ’ गर्नेले चाइना मार्केट हुँदै तस्करीको कपडा भित्र्याउने गरेको पाइएको हो ।
व्यापारीले निश्चित रकम क्यारिङ गर्नेलाई दिएपछि उनीहरूले भरिया प्रयोग गरेर तस्करीको कपडा विराटनगरसहित पूर्वको दुहबी, इटहरी, धरान, बेलबारी, पथरी, उर्लाबारीसम्मका व्यापारीको गोदाममा कपडा पुर्याउने गरेका छन् । अहिले क्यारिङ गर्नेले तस्करीको मुख्य नाका विराटनगरको दक्षिण गेट, दरैया र चाइना मार्केट बनाएका छन् । चाइना मार्केटमा रहेका पसलहरू भारत र नेपालको सीमा जोडिएको क्षेत्रमा रहेका छन् ।
गिरोहले प्रयोग गरेको भरियाले तस्करीको समान सीमावर्ती बजार जोगवनी हुँदै सीमा क्षेत्रका पसलमा मध्य रातको समयमा कटाउने गरेका छन् । यसरी तस्करीको कपडा विराटनगर–१६ मा रहेको चाइनिज बजारमा ल्याएको १० बोरा कपडा इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार राति बरामद गरेको छ । प्रहरीले बरामद गरेको कपडा ३ लाख १० हजार मूल्य बराबरको रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
बरामद भएको कपडा क्यारिङ गर्दै तस्करी धन्दा चलाउने सौरभ चौरसियाको रहेको प्रहरीले जनाएको छ । सौरभले विराटनगरको दक्षिण गेट हुँदै चाइनिज मार्केटमा कपडा ल्याएपछि पूर्वी सहरमा पठाउने गरेको बुझिएको छ । उनले व्यापारीसँग प्रतिथानको हिसाबले कपडा जोगवनीदेखि गन्तव्यसम्म पु¥याउने जिम्मा लिएका हुन्छन् ।
बरामद गरेको कपडा क्यारिङमार्फत् तस्करको समूहले साहको गोदाममा ल्याउने गरेको थियो । ‘भन्सार छलेर अवैध रूपमा कपडा ल्याउन व्यापारीले ‘क्यारिङ’ गर्नेको समूहलाई दिने गर्दछन्’ यस क्षेत्रका जानकार स्रोतले भन्यो, ‘व्यापारीले प्रतिपिस कपडाको हिसाबले क्यारिङ गर्नेलाई पैसा दिने गर्दछन् ।’ भारतदेखि विराटनगरमा क्यारिङमार्फत् कपडा ल्याउँदा मूल्य अनुसार दररेट क्यारिङ गर्नेले लिने गरेका छन् ।
कपडा क्यारिङ गर्नेले दिएको जानकारीअनुसार भारतदेखि विराटनगरसम्म पसलको गोदाममा ल्याउँदा ‘क्यारिङ’ गर्नेले कपडाअनुसार मूल्य निर्धारण गरेका छन् । सर्टको प्रतिथान २० देखि २५ रूपैयाँ, पाइण्टको ४० देखि ५० रुपैयाँ, कुर्ता सुरुवालको प्रतिथान १५ रुपैयाँ, जम्परको २५ देखि ३० रुपैयाँ र सेण्डो भेष्टको २ देखि ४ रूपैयाँ लिने गरेका छन् ।
‘कपडा व्यापारीले भारतीय बजार गएर कपडा खरिद गरेपछि भन्सारमा राजस्व नर्तिन क्यारिङ गर्नेलाई रोज्ने गरेका छन्’ स्रोतले भन्यो, ‘क्यारिङ गर्नेले पनि हाईरिस्कमा कपडा गन्तव्यसम्म पु¥याउने जिम्मा लिने गर्दछन् ।’
व्यापारीले क्यारिङ गर्नेलाई कपडा जिम्मा लगाएपछि बाटोमा प्रहरीले समात्यो भने कपडाको मूल्य क्यारिङ गर्नेले व्यहोर्नुपर्ने हुन्छ । तर, ठूला व्यापारीको क्यारिङ गर्ने तस्करले प्रशासनसँग राम्रो सेटिङ मिलाएको हुनाले पक्राउ पर्ने अवस्था निक्कै कम हुने स्रोतको भनाइ छ ।
‘कतिपय कपडाको क्यारिङ गर्नेले व्यापारीलाई धरौटी रकम पनि राख्नुपर्ने हुन्छ’ लामो समयदेखि कपडा क्यारिङ गरेर छोडेका एक जनाले नाम नबताउने सर्तमा भने, ‘कसैले विश्वासको भरमा काम गर्ने भएकोले धरौटी रकम पनि नमाग्ने गरेका छन् । व्यापारीले धरौटी राख्नुको कारण भनेको बाटोमा आफ्नो कपडा प्रहरीले समात्यो भने धरौटीबाट असुल गर्नु हो ।’
होलसेलदेखि खुद्रासम्म तस्करीको कपडा
भारतबाट तस्करीको कपडा थोकदेखि खुद्रासम्मको पसलमा आउने गरेको पाइएको छ । क्यारिङ गर्नेले तस्करीको कपडा मोरङको विराटनगर, उर्लाबारी, विराटचौक र सुनसरीको इटहरी, इनरुवाका कपडा पसलहरूमा पु¥याउने गरेका छन् । सुनसरीमा सबैभन्दा बढी इटहरीमा जाने गरेको स्रोतको भनाइ छ ।
‘सुनसरीमा कपडाका होलसेल पसलहरू धेरै भएकोले त्यहाँ तस्करीको कपडा जाने गरेको छ’ स्रोतले भन्यो, ‘अहिले लाखौंको कपडा क्यारिङ गर्नेहरूले लैजाने गरेका छन् ।’
भारतबाट तस्करीको कपडा क्यारिङ गर्न भरिया प्रयोग गर्ने गरेका छन् । क्यारिङ गर्नेहरूले निश्चित रकम दिएर कपडा बोक्न भरिया लगाउने गरेका हुन्छन् । क्यारिङ गर्नेले ३ सय रूपैयाँदेखि पाँच सय रूपैयाँसम्म भरियालाई दिने गर्दछन् । क्यारिङ गर्नेले राति र बिहानीपख कपडा भारतबाट तस्करी गरी ल्याउने गर्दछन् ।
रातिको १० बजे पछिदेखि खुल्ला सीमाको फाइदा उठाउँदै क्यारिङ गर्नेले तस्करीको कपडा भरिया प्रयोग गरी नेपाल ल्याउने गर्दछन् । भारतबाट नेपाल भित्र्याई सुरक्षित ठाउँमा तस्करीको कपडा राख्ने गर्दछन् । त्यसपछि साइकल, सिटी सफारी, टेम्पोमा तस्करीको कपडा क्यारिङ गर्नेले व्यापारीको गोदामसम्म पुर्याउने गर्दछन् । कपडा आयात गर्दा रेडिमेडमा २ देखि ३०, थानमा १३ र सुतीमा ५ प्रतिशित कर लाग्ने भएकोले व्यापारीले क्यारिङलाई कपडा ल्याउने जिम्मा दिने गरेका हुन् । विराटनगरमा पनि एक दर्जन बढी कपडाको क्यारिङ गर्नेहरू छन् ।