मोरङको मिक्लाजुङदेखि भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले मिक्लाजुङ गाउँपालिका–५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बूले आफ्नै घरमा २ नाल भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले हतियारसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
लिम्बूले हतियार लिएर जङ्गलमा सिकारी खेल्न जाने गरेको बुझिएको छ । हतियार कहाँबाट ल्याए यस विषयमा पनि थप अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।