जघन्य अपराध गरेर फरार भएका एक जना अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ ग¥यो । 

प्रहरीले ‘खुन डाँका’ मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको मोरङ कटहरी गाउँपालिका ७ का  ८७ वर्षिय विश्वास चौधरी थारु ३६ वर्षपछि पक्राउ परे ।

०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । 

त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात् चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेका थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।

विराटनगर महानगरपालिका ३ का ८५ वर्षीय धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो । 

यस्तै प्रहरीले सोही मुद्दामा अदालतको फैसलापछि घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो । हरिप्रसाद सरदार बातर, जोखन सरदार बातर, ठकुरु भनिने ठक्कुलाल सरदार बातर, रामनारायण खवास, अर्जिलाल खवास र निमालाल खवास पक्राउ परेका थिए । 

यसैगरी शुक्रबार मोरङ प्रहरीले एकै दिन विभिन्न मुद्दामा कैद सजाय र जरिवना तोकिएको ११ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले एकै दिन ११ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । 

मोरङ जिल्ला अदालतदेखि २०७० पुस १४ गते फैसलाले सवारी ज्यान मुद्दा र २०७३ असार १२ गतेको कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यसरी पक्राउ पर्ने कुटपिट र लुटपाट मुद्दाका मोरङ सुनवर्षी नगरपालिका ६ का ५३ वर्षीय  रमेश भुजेल, सोही मुद्दाका २३ वर्षीय सुरज भुजेल, कुटपिट मुद्दामा  ५८ वर्षीय उसमान मिया, २८ वर्षीय रमजान मिया, ४८ वर्षीय अन्जु खातुन, ४८ वर्षीय उवारन खातुन रहेका छन् । 

सोही मुद्दाका  ३० वर्षीय अब्बास मिया, २७ वर्षीय फुच्चे मिया, ३१ वर्षीय कैलु मिया र  ३५ वर्षीय साहजवी खातुन रहेको मोरङ प्रहरीले जनाएको छ ।

यी प्रतिनिधि घटना हुन् । पछिल्लो समय मोरङ प्रहरीले फरार अभियुक्त पक्राउ गर्दै आएको छ । प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा १ सय २८ जना फरार अभियुक्त पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

साउन र भदौ महिनामा अदालतले कैद र जरिवाना तोकिएको अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको उनले बताए । पक्राउ परेका प्रतिवादीबाट १ सय ५४ वर्ष १६ दिन कैद सजाय भुक्तान गरेका छन् भने ३५ लाख ८८ हजार १ सय १४ रूपैयाँ जारिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

फरार पक्राउ अभियान सुरू गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘अदालतको फैसला कार्यन्यन गर्न हामीले अभियानको रूपमा फरार प्रतिवादी पक्राउ गर्न थालेका छौं,’ उनले भने, ‘अहिले हामीले ३६ वर्ष पुराना मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेका छौं ।’ उनका अनुसार प्रहरी फरार अभियुक्त पक्राउ गरिन छुट्टै प्रहरी पनि परिचालन गरेको छ ।