चैनपुर, सङ्खुवासभा । सङ्खुवासभाको मादी–१ उम्लिङ खोलागाउँका ५५ वर्षीय तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको सामूहिक हत्याका आरोपित लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्याको दिन मृतक तेजबहादुर लोकबहादुरकै घरमा खेताला भन्नका लागि घरमा पुगेका थिए । खेतालाका लागि आरोपी लोकबहादुर र कान्छा भाइ नरेश जाने भएका थिए । खेताला सुनिश्चित गरेर फर्किने क्रममा विगतमा तेजबहादुरले पागल भनेको कुरा सम्झिँदै गएपछि आरोपी लोकबहादुरले चिर्पट निकाली केही पर पुगेपछि टाउकोमा पटक–पटक प्रहार गरी हत्या गरेको प्रहरीमा बयान दिएको पत्रकार सम्मेलनमा प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसीले जानकारी दिए ।
तेजबहादुरले हारगुहार गरेको सुनेपछि पत्नी कमला र बुहारी रञ्जनासमेत घटनास्थलतर्फ आएको थाहा पाएपछि त्यही चिर्पटले उनीहरूको पनि हत्या गरेको बयानको क्रममा स्वीकार गरेको डिआईजी बिसीले बताए । लोकबहादुरले काका तेजबहादुरको हत्या गरेको काकी र भाउजूले देखेपछि दुवै जनालाई खोल्सीमा भेटी चिर्पटले २–३ पटक प्रहार गर्दा रन्थनिएर बाटोबाट खोल्सीमा खसेको र सोही क्रममा कमलामाथि प्रहार गरेका थिए । रञ्जना बेहोस जस्तो भई भूईंमा ढली उठ्ने क्रममा उनलाई टाउकोमा पटक– पटक प्रहार गरी सासू लडेकोतर्फ हुत्याइदिएको बयानको क्रममा स्वीकार गरेका छन् ।
‘तेजबहादुरका नाति÷नातिनीले घटना देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरूलाई पनि खेदेर चिर्पट प्रहार गरी बारीमा हत्या गरेको देखिन्छ’–डीआईजी बिसीले भने । ५ जनाको हत्या गरेपछि लोकबहादुर तेजबहादुरको घरमा पुग्छन् । कुँडोनजिकै बसिरहेकी तेजबहादुरकी आमा पार्वतीलाई भित्तामा ठेलेर चिर्पटले प्रहार गरी उनको पनि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तेजबहादुरका बुबा कान नसुन्ने र आँखा त्यति नदेख्ने भएकाले उनलाई केही नगरी लोकबहादुर आफ्नो घर फर्किएको प्रहरी अनुसन्धानमा देखिएको छ । ‘केही मिनेटको फरकमा पालैपालो हत्या गरेको देखिन्छ । बलियो मानिसलाई ढालेपछि कमजोरहरूलाई आक्रमण गरेको देखिन्छ’ उनले भने, ‘घरको मूलीलाई नै आक्रमण गरेर ढालेपछि महिलाहरू आत्तिएर केही गर्न नसकेपछि उनीहलाई हत्याराले सजिलै चिर्पटले हिर्काएको देखिन्छ ।’
तेजबहादुरले पटक–पटक पागल भन्दै केही काम गर्न नसकेको भन्दै हेपेको कारणले हत्या गरेको देखिएको छ । तेजबहादुरले लोकबहादुरलाई सम्झाउने क्रममा गर्ने गालीलाई कुण्ठाको रूपमा लिएपछि त्यही विषयलाई लिएर हत्या गरेको देखिन्छ’–अनुसन्धान अधिकारीले भने । मृतक तेजबहादुर र लोकबहादुर नाताले काका–भतिज हुन् । प्रहरीले कार्कीलाई शनिबार पक्राउ गरेको थियो । गत सोमबार बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय बुहारी रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या गरेको थियो ।
विदेशबाट फर्किएका थिए
हत्या आरोपी लोकबहादुर पाँच वर्षअगाडि वैदेशिक रोजगारबाट फिर्किका थिए । उनी रोजगारीको सिलसिलामा २ पटक कतार र सन् २०१६ मा १ पटक मलेशियामा काम गरेर फर्किएपछि स्वास्थ्य समस्या देखिएका कारण घरमै बस्दै आएका थिए । उनी बेला–बेला आक्रोसित हुने, जे पायो त्यसैले आक्रमण गर्ने, रातभर एक्लै हिँड्ने तथा बुबा र कान्छा भाइसँग पनि झै–झगडा गर्दै आएको प्रहरीले जनाएको छ ।
‘आफन्त रहेकोले लोकबहादुरको घरमा तेजबहादुर बेला–बेलामा सम्झाउने अह्राउने र काम नगर्दा किन काम नगरेको, तँ पागल, अल्छी, काम पनि गर्दैनस् भन्दै लोकबहादुरलाई भन्ने गरेका थिए । जुन कुरा लोकबहादुरले गम्भीर रूपमा लिएका थिए । पटक–पटक विदेश जाँदा पनि कमाउन नसकेको, विदेश जाँदाको ऋण र आमाको उपचार र किरिया खर्चसमेत भएको जग्गा बेचेर तिरेको कुराले लोकबहादुरलाई हीनताबोध गराएको रहेछ’ डिआईजी बिसीले पत्रकार सम्मेलनमा भने, ‘त्यही रिसको आवेगमा आएर हत्या गरेको देखिन्छ ।’
हत्यापश्चात् चिर्पटले कुँडो पकाए
६ जनाको हत्या गरेपछि हातमा भएको चिर्पटलाई लोकबहादुरले डेढसय मिटरमा रहेको आफ्नो घरमा लगी डढाएको प्रहरी अनुसन्धानमा देखिएको डिआईजी बिसीले जानकारी दिए । ‘घरमा आएर हत्यामा प्रयोग गरेको चिर्पट घरको चुलोमा आगो बालेर सल्काएपछि लुगा फेरेर लोकबहादुर घरमाथि चढेको देखिएको छ’–उनले भने । हत्या गरेपछि बिहान साढे ८ बजेतिर लोकबहादुरले आफ्नो भाइलाई ‘पर बढिबाको लाश छ’ भनेर सुनाएका थिए ।
लोकबहादुरको कपडामा लागेको रगतको दाग भेटिएपछि पक्राउ गरेर अनुसन्धान थालेपछि हत्या गरेको स्वीकार्दै बयान दिएका छन् । प्रहरीले मृतकहरूले प्रयोग गरेका मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाएको छ । अभियुक्तले दिएको साबिती बयानको भिडियो, घटनास्थलमा पुगेर गरिएको कुराकानीको क्लिप, कपडामा लागेका रगतको दागलगायतका सामानहरूलाई प्रहरीले प्रमाणको रूपमा पेश गरेको छ । पोष्टमार्टम रिपोर्टमा टाउकोमा ब्लण्ट फोर्सहरू भएको देखिएको डिआईजी बीसीले बताए ।
अनुसन्धानमा डिआईजीसहित ४९ जना प्रहरी
सामूहिक हत्या घटनाको अनुसन्धानमा डिआईजी अरुणकुमार बिसीसहित ४९ जना प्रहरी परिचालन भएका थिए । सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका डिएसपी रुगम कुँवर र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीसहित ४९ जनाको टोली घटनामा संलग्न अभियुक्तलाई घटना घटाएको पाँच दिनपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका अभियुक्तलाई आइतबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।