पथरीशनिश्चरे/ मोरङको पथरी शनिश्चरेमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका लागि कोरोना भाइरस विरुद्धको जाेनसन खोप लगाउन थालिएको छ ।
आइतबार वडा नम्बर १ का लागि वडाको शहरी स्वास्थ्य केन्द्र, ७ को सहरी स्वास्थ्य केन्द्र, ९ र ८ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ नम्बरका लागि हसन्दह स्वास्थ्य चौकीमा खोप लगाइएको स्वास्थ्य शाखा सहसंयोजक जगतप्रसाद मगरले जनाए ।
सोमबार वडा नम्बर २ का लागि नगर अस्पताल, ३ को सहरी स्वास्थ्य केन्द्र, ४ र १० का लागि शनिश्चरे स्वास्थ्य चौकी र ६ का लागि आधारभूत स्वास्थ्य केन्द्र मंगलबारेमा खोप लगाइने छ । साथै भूटानी शरणार्थीहरुका लागि १९ गते शरणार्थी शिविरमा खोप लगाइने निर्णय भएको छ । सो खोप एक पटक ( एक डोज) मात्र लगाउनु पर्ने छ । शिविरमा समेत गरी ८ स्थानमा खोप सेवा सञ्चालन गरि सहज रुपले खोप सञ्चालन गरिने भएको हो ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा शनिवार बसेको नगर खोप समन्वय समितिको बैठकले साउन १७ र १८ गते सो खोप लगाउने निर्णय गरेपछि आइतबारबाट खोप सुरु भएको हो ।
खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका साथै १८ वर्षमाथिका अपाङ्गता भएका क र ख श्रेणीका व्यक्तिहरु, खोप अनिवार्य भएको बैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले उमेर खुल्ने सहितका आवश्यक कागजात पेश गर्नु पर्ने निर्णय भएको छ । साथै खोप लगाउने आउनेले कोरोना सतर्कता सहितको तोकिएको स्वास्थ्य मापदण्ड पुरा गर्न समेत अनुरोध गरिएको छ । खोप लगाउनेले vaccine.mohp.gov.np मा आफनो नाम दर्ता गरी दर्ता नम्बर लिएर आउन समेत सकिने छ ।
सो समूहका लागि ५ हजार व्यक्तिलाई खोप लगाइने योजना छ । पथरी शनिश्चरेमा यसअघि ५५ वर्ष उमेर समूह माथिका लागि भेरो सेल खोप लगाइएको थियो ।
यस अघि र चालु अवस्थामा खोप लगाउन छुट भएका उमेर समूहका लागि वडास्तरबाट तथ्यांक संकलन गरी नगरले खोप माग गर्ने समेत बैठकले निर्णय गरेको छ ।