धरान । दक्षिण एसियाको नमूना स्वास्थ्य संस्था बनाउने उद्देश्यले २८ वर्षअघि स्थापित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला भ्रष्टाचारको नमुना संस्था बनेको विभिन्न प्रतिवेदनहरूले औंल्याएका छन्, तर ती प्रतिवेदनहरूलाई यसअघिका कुनै पनि सरकारले सार्वजनिक भने गरेनन् ।
करिब तीन साताअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रम कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित ८ सदस्यीय कार्यदलको प्रतिवेदन अझै तयार हुन बाँकी छ । दुई साताको समय दिइएको उक्त कार्यदलको समय सीमा भने दुई दिनअघि नै सकिएको छ ।
यद्यपि अर्याल कार्यदलले तयार गरेर सरकारलाई बुझाउन लागेको प्रतिवेदनमा पनि प्रतिष्ठानभित्र मौलाएको बेथिति, भ्रष्टाचार र आर्थिक अनियमितताको फेहरिस्त नै रहेको कार्यदलका एक सदस्यले बताए । यसअघि प्रतिष्ठानको विषयमा सरकारले पाँच पटक बढी कार्यदल बनाएर अध्ययन प्रतिवेदन बनाउन लगाएको देखिन्छ । तर, कुनै पनि प्रतिवेदन सार्वजनिक नगर्ने र कार्यान्वयन तहमा नपु¥याएका कारण प्रतिष्ठानमा बेथितिको चाङ लागेको हो ।
प्रतिष्ठानभित्र अनेक बेथितिका चाङमध्ये सार्वजनिक खरिद ऐन नियमावली विपरीत मेडिकल उपकरण खरिद गर्ने र लागत स्टिमेट बढाएर विभिन्न भवन निर्माण गर्ने गरेको ती प्रतिवेदनहरूले औंल्याएका छन् । ०७५ मा केदारबहादुर कार्की संयोजक रहेको उच्चस्तरीय कार्यदलले त प्रतिष्ठानमा मेडिकल उपकरण खरिदमा व्यापक भ्रष्टाचार नै भएको उल्लेख गर्दै प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको थियो । ती प्रतिवेदनअनुसार प्रतिष्ठानले कतिपय मेडिकल उपकरणहरू खरिद गर्दा अन्य सरकारी स्वाथ्य संस्थाहरुको तुलनामा अस्वाभाविक मूल्य भुक्तानी गरेको छ ।
उक्त प्रतिवेदनमा काठमाडौंको वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुरको धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र काठमाडौंकै शहीद गङ्गालाल हृदय रोग उपचार केन्द्र र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्ष ०७१/७२ देखि आर्थिक वर्ष ०७५/७६ सम्म खरिद गरेका मेडिकल उपकरणका मूल्यको तुलनात्मक अध्ययन गरेको थियो ।
उक्त प्रतिवेदनअनुसार सबैभन्दा बढी नीतिगत र संस्थागत आर्थिक भ्रष्टाचार बीपी प्रतिष्ठानमा भएको उल्लेख गरेको छ । औपचारिक रूपमा सार्वजनिक नगरिएको उक्त प्रतिवेदनअनुसार चार आर्थिक वर्षको अवधिमा बीपी प्रतिष्ठानले कुल ४७ करोड २९ लाख ५६ हजार ६ सय २० रुपैयाँ बराबरको ६६ वटा मेडिकल उपकरण खरिद गरेको छ ।
प्रतिवेदनअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इकोकार्डियोग्राफी उपकरण खरिदमा १ करोड ५१ लाख ३८ हजार ६ सय १० रुपैयाँमा किन्दा बीपी प्रतिष्ठानले १ करोड ७४ लाख ९८ हजार ७ सय ५० रुपैयाँमा किनेको छ । अर्थात् २३ लाख ६० हजार १ सय ४० रुपैयाँ बढी खर्च गरेको औंल्याएको छ । आर्थिक वर्ष ०७४/७५ मा बीपी प्रतिष्ठानले अप्रेशन थिएटर लाइट (ओटी लाइट) खरिद गर्दा ४२ लाख ९१ हजार ७ सय ४० रुपैयाँमा किन्दा सोही उपकरण पोखराले १६ लाख ५० हजार रुपैयाँमा खरिद गरेको उल्लेख छ ।
भक्तपुरको शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले इन्ट्रा एओर्टिक बेलुन पम्प २ लाख २१ हजार ३ सय ३८ रुपैयाँमा खरिद गर्दा बीपी प्रतिष्ठानले ६२ लाख ८ हजार ९ सय ७६ रुपैयाँमा किनेको पनि उल्लेख गरेको छ । सर्जिकल हेडलाइट मेसिन मानव अङ्ग प्रत्यारोपण केन्द्रले ४ लाख ९८ हजार ३ सय ३० रुपैयाँमा खरिद गर्दा बीपी प्रतिष्ठानले १० लाख १५ हजार ३ सय रुपैयाँमा खरिद गरेको र हार्ट–लङ मेसिन मानव अङ्ग प्रत्यारोपण केन्द्रले १ करोड ३६ लाख ७३ हजार रुपैयाँमा खरिद गर्दा बीपीले भने १ करोड ५७ लाख रुपैयाँ खर्च गरेको उल्लेख छ ।
मुटु रोग पहिचान र उपचार गर्ने क्याथल्याव उपकरण खरिद गर्दा शहीद गङ्गालाल हृदय रोग उपचार केन्द्रले ५ करोड ४४ लाख ४० हजार २ सय रुपैयाँ, धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले ६ करोड ४० लाख रुपैयाँमा खरिद गर्दा बीपी प्रतिष्ठानले भने ८ करोड ७६ लाख ७८ हजार २ सय १५ रुपैयाँ लागेको देखाएको छ । मोड्युलर अप्रेशन थिएटर खरिदमा पनि बीपी प्रतिष्ठानले उक्त मेसिन मानव अङ्ग प्रत्यारोपण केन्द्रले २ करोड १९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ, गङ्गालालले ३ करोड ७४ लाख २४ हजार २० रुपैयाँमा खरिद गर्दा बीपी प्रतिष्ठानले आर्थिक वर्ष ०७२/७३ मा ८ करोड ५० लाख ५४ हजार ४ सय ५ रुपैयाँमा खरिद गरेको देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ड्रिल मेसिन १ लाख ९० हजार ८ सय ३० रुपैयाँमा किन्दा बीपी प्रतिष्ठानले ०७३/७४ मा २० लाख १४ हजार ६५ रुपैयाँमा खरिद गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । पोखराले कौटरी मेसिन खरिद गर्दा ६ लाख ३५ हजार रुपैयाँ, गङ्गालालले ५ लाख ६३ हजार ६ सय ८० रुपैयाँ, वीरले ७ लाख २५ हजार रुपैयाँमा खर्च गरेको छ भने बीपी प्रतिष्ठानले भने आपूर्तिकर्ता कम्पनीलाई भारु ७५ लाख ९९ हजार ४ सय २३ रुपैयाँ अर्थात् १ करोड २१ लाख ३७ हजार ५ सय ९८ रुपैयाँ भुक्तानी गरेको केदारबहादुर अधिकारीको प्रतिवेदनमा उल्लेख छ ।
अप्रेशन थिएटरको ओटी टेवल पोखरा स्वाविप्रले ७ लाख ७८ हजार रुपैयाँमा खरिद गरेको छ भने बीपी प्रतिष्ठानले ७६ लाख १७ हजार ७ सय २९ रुपैयाँ भुक्तानी दिएको छ । अधिकारी प्रतिवेदनले आंैल्याएको बेला प्रतिष्ठानमा उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दास, त्यसपछि प्रा.डा.राजकुमार रौनियार थिए । यद्यपि रौनियार उपकुलपति भएलगत्तै विवादमा तानिएकाले उनको पालामा प्रतिष्ठानमा ठूला र महँगा मेडिकल उपकरण खरिद कमै भएका थिए ।
तर, एमसिएच, अङ्कोलोजी र कार्डियोलोजी भवनको विषयमा भने उनी भ्रष्टाचारमा मुछिएका थिए । उक्त अवधिमा अस्पताल निर्देशकका रूपमा प्रा.डा.अरविन्दकुमार सिन्हा र प्रा.डा.गौरीशङ्कर साह थिए । साह अहिले पनि अस्पताल निर्देशककै रूपमा छन् । रजिष्ट्रारहरूमा माओवादी कोटाबाट आएका नन्दकुमार थापा त्यसपछि तुलबहादुर श्रेष्ठ थिए । स्पेसिफिकेसनअनुसार मेडिकल उपकरण ठीक छ भन्नेमा इलेक्ट्रोमेड शाखा प्रमुख राहुल मिश्र थिए भने खरिद शाखा प्रमुख सागर ताम्राकार थिए ।
खरिद गरिएका मेडिकल उपकरण महँगो हुनुमा पदाधिकारी, खरिद शाखा र व्यापारीबीच मिलिभगत भएपछि मात्र सम्भव हुन्छ । प्रतिष्ठानका नर्सिङ कलेजका प्राध्यापक श्याम लम्सालका अनुसार मेडिकल उपकरण खरिदमा मिलिभगतमा अस्वाभाविक, अवैज्ञानिक रूपले लागत तयार गरेर परल मूल्यभन्दा अत्यधिक महँगोमा खरिद गरिनुलाई संस्थागत भ्रष्टाचार भनिन्छ ।
कमिसनकै लागि तत्कालीन उपकुलपति डा.बलभद्रप्रसाद दासले इलेक्ट्रोमेड शाखा स्थापना गरेर त्यसको प्रमुख राहुल मिश्रलाई बनाएका हुन् । पछिल्लो समयमा निमित्त उपकुलपति भएका डा. गुरु खनालले प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर प्रदीप साहलाई राहुलको मातहतमा रहेर काम गर्न आदेश दिएपछि मेडिकल उपकरण ठीक भए नभएको निर्णय इलेक्ट्रोनिक्स इञ्जिनियर मिश्रले मात्र गर्दै आएका छन् ।
नेपाल इञ्निियरिङ काउन्सिलमा राहुलको जिम्मेवारी पङ्खा, फ्रिज, विद्युत् तार, टेलिफोन, फोटोकपी मेसिन जस्ता इलेक्ट्रोनिक्स उपकरण हेर्ने र मर्मत सम्भार गर्ने मात्र हो । प्रतिष्ठानका एक चिकित्सकले भने, ‘तर, उनले जीवनमै बायोमेडिकल इञ्जिनियरिङ नपढी मेडिकल उपकरणको लेखाजोखा गर्ने जिम्मेवारी पदाधिकारी तहबाट दिनु आश्चर्य छ । यस्ताले लेखाजोखा गरेको मेडिकल उपकरणको गुणस्तरीयता त नहुने नै भयो । कमिसनका कारण महँगो पनि हुने नै भयो ।’