विराटनगर । बाढी पहिरोमा परी बेपत्ता भएका कोशी प्रदेशका २८ जनाको खोजी कार्यमा प्रहरी लागि परेको छ । तालिम प्राप्त कुकुरसहित प्रहरी बेपत्ताको खोजीमा लागि परेको हो ।
असार १ गतेदेखि ९ गतेसम्म बाढी पहिरामा परी कोशी प्रदेशमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । बेपत्ताको सङ्ख्या २८ जना रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बाढी पहिरोमा परी बेपत्ता भएका मानिसहरूको उद्धार तथा खोज तलास कार्यमा खटिएका सुरक्षा कर्मीहरूद्वारा उनीहरूको अवस्था हाल सम्म फेला पार्न नसकेकोले तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता दिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
तालिम प्राप्त कुकुरसहित पाँच सय बढी प्रहरी परिचालन भएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले बेपत्ता भएका मानिसहरूको तीव्र रूपमा खोजतलास गरिरहेको छ ।
चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा आएको बाढी पहिरोले १७ जना, चैनपुर नगरपालिका–१ स्थित पिलुवा खोलामा १ जना, पाँचखपन नगरपालिका–९ स्थित अपरहेवा खोलामा १ जना र सभापोखरी गाउँपालिका–३ स्थितमा पहिरोले पुरी २ जना बेपत्ता भएका छन् ।
ओखलढुङ्गा बिहीबार रातीको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा पहिरोमा परी ४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरीले बताएको छ ।
यसअघि ताप्लेजुङमा चार, पाँचथरमा दुई, भोजपुरमा एक र सङ्खुवासभामा एक जनाको ज्यान गएको छ । ती घटनामा नौ जना घाइते भएका छन् ।