भद्रपुर । भद्रपुर नगरपालिकाको असार ८ गतेका लागि बोलाइएको १२ औं नगरसभामा गणपूरक सङ्ख्या नपुगेकोले स्थगित भएको छ ।
शुक्रबार बोलाएको नगरसभामा गणपूरक सङ्ख्या नपुगेकोले दोस्रो बैठक आज (शनिबार) लाई डाकेको छ । प्रदेशसभा एवम् कोशी प्रदेशबाट जारी गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि अनुसार सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत उपस्थित नभएको हुँदा बैठक स्थगित गरी सोही नियमावलीको दफा १४ को (२) अनुसार शनिबारलाई बैठक डाकेको नगरपालिकाले जनाएको छ ।
नियमावलीमा लगातार दुई पटक बैठक डाक्दा पनि गणपूरक सङ्ख्या नपुगेमा कम्तीमा एकतिहाइ सदस्यहरूको उपस्थितिलाई गणपूरक सङ्ख्या मानेर तेस्रो बैठकले निर्णयहरू गर्न सकिने सुविधा दिएको छ ।
भद्रपुर नगरपालिकाको हकमा तत्काल कायम रहेको सदस्य सङ्ख्या ५४ हो । लगातारको बैठकमा आवश्यक गणपूरक सङ्ख्या नपुगेमा एकतिहाइ अर्थात् १८ जना सदस्यको उपस्थितिमा निर्णय हुन सक्ने विधानतः व्यवस्था रहेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम र प्रस्तावहरू छलफल गरी स्वीकृत गर्नका लागि अधिवेशन डाकिएको नगरप्रमुख गणेश पोखरेलले बताए । १२ औं अधिवेशनको बैठकमा नेकपा (एमाले) का सम्पूर्ण र राप्रपाका दुई जना बोर्ड सदस्य अनुपस्थित रहेका थिए ।
बैठकमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाका सभासद्सहित २२ जनाको उपस्थिति रहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ । नगरप्रमुख पोखरेलले बोर्ड बैठकमा छलफल भई नगरसभामा लैजाने बजेट, नीति तथा कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने अधिवेशन डाक्न हस्ताक्षर गर्ने जिम्मेवार प्रतिनिधि नै अधिवेशनमा उपस्थित नहुनु दुःखद् भएको बताए ।
सबै प्रक्रियालगायत कार्यसूचीमा समेत हस्ताक्षर गर्ने तर, सभामा भौतिक उपस्थिति नभएको उनले बताए । असार १० गतेसम्ममा नगरसभा सक्नै पर्ने चाप भएकाले आज (शनिबार) को बैठकमा सबै सदस्य उपस्थित हुने उनको अपेक्षा छ ।
यसैबीच अनुपस्थित रहने पक्षले भद्रपुर नगरपालिकाको शिक्षा समिति पुनर्संरचना गर्नुपर्ने माग अघि सारेको बुझिएको छ । कार्यपालिका सदस्यमध्येबाट नै नगर शिक्षा प्रमुख राख्नुपर्ने एजेन्डा अघि सार्दै उनीहरूले अडान राखेका छन् ।