विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । 

साउन १ गतेदेखिबाट विराटनगरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा निरला कार्कीले बताएकी हुन् । 

१ वैशाखमा महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध  गर्ने निर्णय गरेको थियो । सोही अनुसार महानगरले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो । 

पछिल्लो समय कार्यान्वयन प्रभावकारी नदेखिएको बताउँदै उनले साउन १ गतेबाट कडाइको साथ सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण  गर्न नदिने बताइन् । 

बुधबार भएको धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी सरोकारवालाहरुसँगको अन्र्तक्रियामा बोल्दै उपप्रमुख कार्कीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने बताइन् । 

‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको  साथ लागू गरेर कार्यान्वयनमा लिएर जानेछौं,’ उनले भनिन्, ‘महानगरले सार्वजनिक स्थलमा साउन १ बाट सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएर लानेछौं ।’  

अटेर गर्नेलाई ऐनमा भएको नियमअनुसार कारबाहीको दायरामा आउने उनले बताइन् । 

सुर्तीजन्य पदार्थको सार्वजानिक स्थलमा बिक्री वितरण गर्ने महानगरको अभियानलाई सबै संघसंस्थाले साथ सहयोग गरिदिनुपर्ने उनले बताइन् । 

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री–वितरणमा कडाइ गर्न सुरू गरेको हो । 

चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको उनले बताइन् । 

कार्यक्रममा बोल्दै कोशी अस्पतालका दन्त रोग विशेषज्ञ डाक्टर सुधिर श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनको कारण मुखको क्यान्सरका बिरामीको संख्यामा वृद्धि भएको बताए । 

‘धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोले मुखको क्यान्सर अहिले बढेको छ,’ उनले भने, ‘कोशी अस्पतालमा अहिले दैनिक २/३ जना मुखको समस्या लिएर बिरामीहरु आउने गरेका छन् । आएका बिरामीहरू सुर्तीजन्य पदार्थ सेवनको कारणले समस्या लिएर आउनेहरू रहेका छन् ।’

कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठ, विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर ७ का वडाअध्यक्ष मधुबाबु तिवारी, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, पब्लिक फोरमको अध्यक्ष उतम ढुङ्गेलले रोग निम्त्याउने सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताए । 

त्यसको लागि सचेतनामुलक कार्यक्रम गरेर सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागू गर्नुपर्नेमा जोड दिए ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ । 

विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम रुपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको र त्यसलाई पूर्ण रुपमा रोक्न महानगरपालिका लागि पर्ने भएको हो ।