विराटनगर । कीर्ते कागजपत्र पेश गरेर ८१ हजार ३ सय ४२ थान स्यानिटरी प्याड खरिदको ठेक्का पार्न कम मूल्याङ्कन गरी बढी रकम कबुल गर्ने सप्लायर्सलाई दिएको ठेक्का सुनसरीको इटहरी उपमहानगरपालिकाले रद्द गरेको छ ।
कम मूल्याङ्कन गरी आवेदन हालेको फर्मलाई पाखा लगाएर कीर्ते कागजपत्र पेश गरी ३४ लाख बढी मूल्य हाल्ने सुनसरी धरान–१ को निक्की डिष्ट्रिब्युटर्सले पारेको ठेक्कामा उजुरी परेपछि नगरपालिकाले बिहीबार बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गरेको हो ।
स्यानिटरी प्याड खरिद गर्ने ठेक्का पारेको डिष्ट्रिब्युटर्सले ल्याव रिपोर्ट कीर्ते गरी बुझाएको उजुरी परेपछि बोलपत्र स्कीकृत गर्ने आशयको सूचना रद्द गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
‘जेठ ३१ गते सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ उपदफा २ बमोजिम प्रयोजनको लागि सात दिनको आशयको सूचना प्रकाशित गरिएको थियो । त्यसपछि नगरपालिकामा उजुरी परेपछि बिहीबार बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गरिएको छ’ नगरप्रमुख पौडेलले भने, ‘बिहीबार निक्की डिष्ट्रिब्युटर्सलाई सात दिनभित्रमा सक्कली कागजपत्र पेश गर्न हामीले भनेका छौं । त्यसपछि छानबिन हुनेछ ।’ छानबिनको क्रममा नक्कली कागजपत्र पेश गरेको पुष्टि भए फर्मलाई कालोसूचीमा राखेर कानूनी प्रक्रिया अगाडि बढाउने उनले बताए ।
इटहरी उपमहानगरपालिकाले ८१ हजार ३ सय ४२ प्याकेट स्यानिटरी प्याड खरिदको लागि वैशाख २० गते पत्रिकामा सूचना निकालेको थियो । सूचना जारी भएपछि पाँचवटा फर्मले आवेदन दिएका थिए । जसमा अप्सरा ट्रेडलिङ्कले ४५ लाख ३ हजार ९ सय ६ रुपैयाँ ५४ पैसा, एन्जल टच हाइजिन म्यानुफेक्चरिङ प्रा.लि.ले २० लाख ७ हजार ४ सय ५५ रुपैयाँ ४९ पैसा, जनहित टे«डर्सले २४ लाख ३९ हजार ४ सय ६२ रुपैयाँ ८५ पैसा, विराट हेल्थकेयर इन्डष्ट्रिज प्रा.लि. बूढीगङ्गा–२ टङ्कीसिनवारीले १८ लाख ५७ हजार ६ सय ३१ रुपैयाँ ६६ पैसा र निक्की डिष्ट्रिब्युटर्स धरान–१ सुनसरीले ५३ लाख ३१ हजार १ सय ५४ रुपैयाँ ६८ पैसामा ठेक्का हालेको थियो । ठेक्का हालेकामध्ये सबैभन्दा बढी रकम कबुल गर्ने निक्की डिष्ट्रिब्युटर्सले स्यानिटरी प्याड खरिद गर्ने ठेक्का पाएको थियो । सबैभन्दा कम मूल्याङ्कन गर्ने विराट हेल्थकेयर इन्डष्ट्रिजको आवेदन रद्द गरिदिएको थियो ।
नगरपालिकाले जारी गरेको सूचनामा स्यानिटरी प्याड माटोमा १ सय ८० दिन (६ महिनाभित्र) मा ९० प्रतिशत बायो डिग्रेबल (कुहिने प्याड) हुनुपर्ने उल्लेख गरेको छ । त्यही भएर अन्य चारवटा फर्मको बायो डिग्रेबल स्यानिटरी प्याडको रिपोर्ट नभएको कारण देखाउँदै नगरपालिकाले आवेदन रद्द गरेको थियो ।
निक्की डिष्ट्रिब्युटर्सले ल्यावको रिपोर्ट बनाउँदै स्यानिटरी प्याड बायो डिग्रेबल भनेर पेश गरेको थियो । तर, निक्कीले विराटनगरस्थित उद्योगी पुनित सारडाले सञ्चालन गरेको उद्योग जस्मिन हाइजिन प्रोडक्ट्स प्रालिले दिएको बायो डिग्रेबलको रिपोर्ट नक्कली पेश गरेको प्रमाण फेला परेको थियो ।
कुहिने पदार्थ परीक्षण गर्ने ल्याव भारतमा मात्र रहेको छ । भारतको सिपेट पेट्रोकेमिकल्स उन्नत अनुसन्धान स्कुल (एआरएसटीपीएस) ले दिएको रिपोर्ट अनुसार जस्मिन हाइजिन प्रोडक्स प्रालिले उत्पादन गरेको स्यानिटेरी प्याडको मापदण्ड (बायो डिग्रेबल (कुहिने प्याड) को लागि उपयुक्त नभएकोले रिपोर्टमा उद्योगलाई यो रिपोर्ट दिन सम्भव छैन भनेको छ । तर, उद्योगले आफ्नो सप्लायर्सलाई ठेक्का पार्न भारतको ल्यावले दिएको रिपोर्टलाई फोटोसपमार्फत् तोडमोड गरेर बायो डिग्रेबल भनेर कागजपत्र पेश गरेको पाइएको छ ।