विराटनगर । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।
बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।
प्रदेशको वर्षे अधिवेशनलाई बजेट अधिवेशन भन्ने गरिएको छ । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर प्रदेशसभालाई बाइपास गर्दै बजेट ल्याउने तयारी गरेको हो ।
प्रदेशसभामा बुधबार नै प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम पेस गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो । नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।