संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिरहेका बेला कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गरिएको छ । 

अध्यादेश मार्फत बजेट ल्याए प्रदेशमा झन् अस्थिरता थपिने भन्दै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । 

नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीको राजीनामा माग गर्दै कांग्रेसले नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।  

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । 

उनले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको बताए । 

‘अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैरजिम्मेवार र प्रदेशमा झन् समस्या थप्नतिर उद्यत भएको प्रष्ट हुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्नका लागि मार्गप्रशस्त गर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।