देउराली । भारतले आफ्नाे नवनिर्मित संसद भवनमा राखिएको अखण्ड भारतको नक्समा नेपालकाे भू–भाग परेको भन्दै कोशी प्रदेश सभामा अपत्ति जनाइएकाे छ ।
बिहिबार बसेकाे प्रदेशसभाको बजेट अधिवेशनमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भारतले नेपाली भूमि समेटेर अखण्ड भारतको नक्सा संसद भवनमा राखेको घटनाले देशभक्त नेपालीहरूको राष्ट्रभक्तिमा ठेस पुगेको बताएका छन् ।
उनले, भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सफल भ्रमणको शुभकामना दिँदै तत्काल नक्सा सच्याउन कुटनीतिक पहल गर्न आग्रह गरेका छन् । उनले भने ' भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा भनिएकाेमा लुम्बिनी र कपिलवस्तु समेटेको समाचार आएको छ, म त्यस प्रति आपत्ति प्रकट गर्छु । यो तत्काल सच्याउन प्रधानमन्त्रीले पहल गर्न अग्रह गर्छु । यो गम्भिर विषय हो । नेपालले पनि पुरोनाे टिस्टादेखि कांगडासम्मको अखण्ड नेपालको नक्सा जारी गर्यौ भने भारत मान्ला ? दुनियाले चिनेकाे दुनियाले बुझेको नेपालको भूमिलाई भारतमा किन राखियो ? प्रधानमन्त्री भारत भ्रमणमा रहँदा यो विषय पनि गम्भिरताका रूपमा उठाउनु पर्यो गम्भिरताका साथ कुटनीतिक पहल गरिनुपर्यो, कुनै पनि देशको सार्वभाैमसत्ता अपहरण गरेको विश्वका कुनै पनि राष्ट्रले मान्दैन, यो अन्तराष्ट्रिय कानुन विपरीत हो ।'