विराटनगर ।  कोशी प्रदेश  योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको  आर्थिक मन्दीले  आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोड दिए । 

पुरानो १ नं प्रदेशको रुपमा रहेको कोशी प्रदेशले आगमी दिनमा आफ्ना कामले पनि एक नं सावित गर्नुपर्ने चुनौती रहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई साकार  बनाउन उपाध्यक्ष उप्रेतीको भुमिका प्रभाकारी हुनेमा आफू विश्वस्त रहेको बताए । 

कार्यक्रममा बोल्दै नव नियुक्त उपाध्यक्ष उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरु निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा  जोड दिने बताए । 

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका  उप्रेती त्रिभूवन विश्व विद्यालयको पूर्व राजिष्ट्रार हुन् ।