विजयपुर । धरान उपमहानगरका निवर्तमान नगरप्रमुख तिलक राईले आफ्नो कार्यकाल समाप्त हुँदै गर्दा धरान खानेपानी व्यावस्थापन बाेर्डमा भौतिक सामग्रीसहित ७ करोड रुपैयाँभन्दा माथि सम्पत्ति भएको बताएका छन् ।

मङ्गलबार नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको प्रेस स्वतन्त्रता हनन्विरुद्ध पूर्व नगरप्रमुखहरूसँगको अन्तरक्रियामा निवर्तमान नगरप्रमुख राईले भौतिक सामग्री र नगद गरेर ७ करोडमाथिको सम्पत्ति भएको बताए । उनले भने, ‘बोर्डमा ३–४ करोड नगद थियो ।

करोडौंको जिन्सी थियो ।’ उनले जिन्सी सामग्री चाहिँ नगरको सम्पत्ति होइन ? भन्दै प्रश्नसमेत गरेका छन् । निवर्तमान नगरप्रमुख राईले सामग्री र नगद गरेर झण्डै ७ करोड रुपैयाँ भएको बताएसँगै नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाका पूर्वअध्यक्ष केशव घिमिरेले बोलेको कुरा पनि पुष्टि हुन आएको छ । नगरप्रमुख हर्कराज राईले पूर्वअध्यक्ष घिमिरेलाई प्रमाणित गर्न सामाजिक सञ्जालमा चुनौती दिँदै आएका थिए । तर, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका निवर्तमान तिलक राईले आफ्नो कार्यकाल समाप्त हुँदै गर्दा झण्डै सात करोडमाथि नै सम्पत्ति रहेको पुष्टि गरे ।


उनले धरान–१४ विजयपुरमा ट्याङ्की निर्माण गर्नका लागि खरिद गरेको पाइप तथा अन्य सामग्रीहरू समेत भएको बताए । उनले भने, ‘त्यो योजनाको पाइपहरू थिए । आफू आउनुभन्दा अघिका बोर्डका पदाधिकारीले नै पाइपहरू खरिद गरेका थिए ।’ अहिले ती सबै पाइपहरू सकिएको बताउँदै उनले भने, ‘अहिलेका मेयरसा’पले सबै कुरा श्रमदानबाट गरँे भनेको सुन्छु । तर, वास्तविकता बुझ्दा पहिले खरिद गरेको कालो पाइप सकिएको छ रे ।’

भ्रष्टाचारको नारा उठाएर निर्वाचित भए पनि हालसम्म छानबिनसमेत नगरेको विषयमा निवर्तमान नगरप्रमुख राईले भने, ‘कसले कति भ्रष्टाचार ग¥यो सार्वजनिक गर्दा भयो नि ।’ तर, उनले भ्रष्टाचार पुष्टि गर्न नसक्ने बताउँदै भने, ‘त्यही पाइप हामीले विधिअनुसार ३ फिट गाड्दा काम लाग्दैन भन्नुहुन्थ्यो ।

अहिले उहाँले त्यही पाइप बाहिरबाहिरै ल्याउँदा पनि भइरहेको छ । उहाँले जे गर्दा पनि हुन्छ ?’ नेपाल सरकारको निर्णयअनुसार खानेपानी संस्थान बोर्डमा गाभ्न खोज्दा धर्ना दिएको बताउँदै निवर्तमान प्रमुख राईले भने, ‘अहिले उहाँ नै मेयर हुनुहुन्छ किन संस्थानलाई नब्युँताएको ?’ उनले संस्थानमा दैनिक दुई–तीन लाख रुपैयाँ उठ्ने गरे पनि संस्थानको धरान शाखालाई एक रुपैयाँ नआउने अवस्थामा बोर्डमा गाभ्दा पनि धर्ना दिएर समस्या गरेको बताए । नगर प्रमुख राईको प्रमुख मुद्दा खानेपानी महसुल निःशुल्क गर्ने रहेको बताउँदै भने, ‘उहाँ नै मेयर हुनुभएको छ । किन निःशुल्क नगरेको ? भनेर प्रश्न गर्दा ५६ करोड ऋण छ कहाँ घटाउनु रे ?’ 

उनले आफूले विधि, प्रक्रिया, पद्दति, खानेपानी संरचना, सम्झौता, लागत–लाभ मूल्याङ्कनका आधारमा महसुल निर्धारण गरेकोसमेत बताए । उनले नगरप्रमुख हर्कराज राई बोर्डको पदेन सदस्य मात्रै भएको बताए ।

उनले भने, ‘अध्यक्षलाई बोर्डले चिनेकै छैन ।’ उनले बोर्डका निर्देशक राजु पोखरेल र रामकुमार राई नगरकै कर्मचारी भएकाले अध्यक्षको रूपमा स्वीकार गरेको बताए । उनले भने, ‘बोर्ड त स्वायत्त हो नि ।’ उनले आफू बोर्डमा अध्यक्ष हुँदा तोक आदेशमा नभई नीतिगतरूपमा बैठक बसेको बताए ।