विजयपुर । धरान उपमहानगर प्रमुख हर्कराज राईको हर्कत प्रेस स्वतन्त्रताविरोधी रहेको धरानका पूर्व नगरप्रमुखहरूले बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले वर्तमान नगरप्रमुखको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको पहिलो चरणको आन्दोलनको अन्तिम दिन मङ्गलबार पूर्व नगरप्रमुखसँगको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

अन्तरक्रियामा पूर्व नगरप्रमुखहरूले प्रेस स्थायी प्रतिपक्ष भएकाले कसैले प्रेस स्वतन्त्रता हनन् गर्न नहुने बताए । मङ्गलबार महासङ्घको हलमा प्रेस स्वतन्त्रता हनन्विरुद्धको अन्तरक्रियामा ४ जना पूर्व नगरप्रमुखको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा पूर्व नगरप्रमुख बम देवानले आफू नगरप्रमुख भएको बेला ३२ वटा पत्रिकाले समाचार लेखेको बताए । ‘प्रेस स्वतन्त्र हुनुपर्छ । कसैले प्रेस स्वतन्त्रता हनन् गर्नु हुँदैन’ उनले भने, ‘त्यसैले ३२ वटा समाचारमविरुद्ध आए पनि मैले कुनै प्रतिक्रिया दिइनँ ।’ उनले ती पत्रिकाको कटिङ राखेको पनि बताए ।

अर्का पूर्व नगरप्रमुख कुमारबहादुर कार्कीले सञ्चारमाध्यमसँग जोरी नखोजी काम गर्नुपर्ने बताए । उनले भने, ‘गलत प्रवृत्तिलाई पत्रकारले लेखेर अभिव्यक्त गर्छ । त्यसलाई कुण्ठित गर्नु हुँदैन ।’ उनले थपे, ‘एक ब्रिगेड फौजभन्दा एउटा पत्रकार शक्तिशाली हुन्छ ।’ उनले नगरप्रमुख हर्कराज राईले आफूलाई सर्वज्ञानी ठानेको पनि बताए । उनले भने, ‘धरानमा हावा हुरी चलिरहेको छ । पत्रकारले नै पनि त्यस्तै सूचना सम्प्रेषण गरिरहेका छन् ।’

उनले फलेको हाँगो झुक्नु पर्ने बताउँदै भने, ‘फलेन भनौँ भने निर्वाचित भए । फल्यो भनौँ भने ठाडो हुँदै गएको छ ।’ उनले बाहिरकालाई धरानको वास्तविकता थाहा नभएको बताउँदै भने, ‘धरानकालाई थाहा छ ।

तर, फोहोरलाई कोट्यायो भने गन्हाउँछ भनेर चलाएका छैनन् ।’ उनले नगरप्रमुख हर्कराज राई धरानको सबैभन्दा ठूलो मै हुँ र राजनीति सिक्न मसँग आउनू भन्ने अभिव्यक्तिले नै उनको हैसियत नाङ्गिएको बताए । उनले भने, ‘सर्वज्ञानी भएर बिग्रने भयो ।’ उनलाई युट्युबले नै सर्वज्ञानी पनि बनाएको बताए ।

नगरप्रमुखले यस्तै गतिविधि गरिरहे धरान दशौं वर्ष पछि पर्ने उनले बताए । उनले भने, ‘नेतृत्व असन्तुलित भयो भने नजिकलाई पिरोल्छ । धरानलाई पिरोल्न थालेको छ ।’

पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले प्र्रेस स्वतन्त्रताको आन्दोलनमा प्रतिबद्धता जनाए । उनले भने, ‘पत्रकार सधैँ प्रतिपक्षको भूमिकामा हुनुपर्छ ।’ मेन्याङ्बोले नगरप्रमुख राईले सुरुदेखि नै आक्रमण गरेको बताउँदै भने, ‘पार्टीका मान्छे पनि चुपचाप । पत्रकारले पनि लेखेनन् । मलाई धरानमा पत्रकार छन् कि छैनन् ? भन्ने लाग्यो ।’

उनले ढिलै भए पनि पत्रकारले घटना परिघटना सतहमा ल्याउने काम गरेको बताए । नगरप्रमुख हर्कराज प्रवृत्तिको टिप्पणी गर्दै उनले भने, ‘कोहीसँग समन्वय गर्नुहुन्न । सुझाव दिएमा स्वर्गका अगाडि इन्द्रको बखान भन्नुहुन्छ ।’ पूर्व प्रमुखहरूलाई भ्रष्टाचारी भनेको बताउँदै भने, ‘पुर्खाको सम्मान नगर्नेले केही गर्न सक्दैन ।’

भ्रष्टाचारविरोधी नारा लगाएका नगरप्रमुख राईको काम नीतिगत भ्रष्टाचारमुखी भएको बताए । श्रमदानमा दैनिक ५–७ लाख खर्च हुने गरेको बताउँदै उनले भने, ‘धरानको लागि दुःखले पठाएको रकमबाट भ्युज बढाएर पैसा कमाउने र डेटिङ जानेलाई पनि मासुभात खुवाउनु पर्ने ?’ उनले नगरप्रमुख राईको अभिव्यक्ति सुनेको बताउँदै भने, ‘श्रमदान छुट्टै अभ्यास भन्दै गैरजिम्मेवार जवाफ दिइन्छ । यसरी अपव्याख्या गर्न पाइँदैन । करोडौंको कामको अडिट गर्नु जरुरी छैन र ?’

उनले फरक सन्दर्भमा जनप्रतिनिधिले साथ दिए पनि आफै विवाद झिकेर वडाध्यक्षहरूको बदनाम गरेको बताए । उनले भने, ‘मेयरका कारणले वडाध्यक्षहरू बदनाम भए पनि चिर्न नसकिरहेको अवस्था देख्छु ।’

निवर्तमान नगरप्रमुख तिलक राईले नेपालमा नै धरान पत्रकारिताको उर्वर भूमि भएको बताउँदै भने, ‘धरानको विकासका लागि पत्रकारिताले सहकार्य र योगदान गरेको छ ।’ उनले नगरप्रमुख हर्कराजले पत्रकारहरूलाई आफू अनुकूलका युट्युबरहरूजस्तै बनाउन खोज्दा विवाद उत्पन्न भएको बताए ।

उनले भने, ‘पत्रकारहरूको धर्म नै खबरदारी गर्ने हो, त्यसैले स्वतन्त्र प्रेसको आलोचनालाई सुझावको रूपमा लिएर सजगता अपनाउनु उचित हुन्छ ।’ उनले आफू नगरप्रमुख हुँदा पत्रकारितालाई स्वतन्त्र, सक्षम बनाउन पत्रकार महासङ्घसँग सहकार्य गरेको बताए । उनले भने, ‘हर्क साम्पाङजीमा युट्युबरको एकतर्फी प्रचार नै प्रेस र पत्रकारिता हो भन्ने भ्रम छ ।’ उनले थपे, ‘प्रेसलाई स्वतन्त्र छोडिदिनु पर्छ, आफ्नो अनुकूल बनाए आफ्नो गल्ती कमजोरी औँल्याउने कोही हुन्न ।’

असहमति भए नीतिगतरूपमा अघि बढ्नुपर्छ । स्तन्त्रता कुण्ठित गर्नु हुँदैन ।’ उनले खानेपानी व्यवस्थापन बोर्ड तोक आदेशमा नभई नीतिगत रूपमा चल्नुपर्ने बताए । पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले पहिलो चरणको आन्दोलन समापन भएको र दोस्रो चरणको आन्दोलन थप सशक्तरूपमा गर्ने बताए ।

धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) र उनका समर्थकबाट पत्रकार असुरक्षित बनेपछि पत्रकार महासङ्घ सुनसरीले गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको थियो । पत्रकारहरूले जेठ १ गते मौन जुलुस गरेका थिए । सुनसरी शाखाले वैशाख २३ गते नगरप्रमुख राईलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

३ दिने समयसीमासहित पत्रकारको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता माग गरिएको थियो । यस्तै, पत्रकार र सञ्चार माध्यमलक्षित आप्mना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त गर्न आग्रह गरेको थियो ।

तर, महासङ्घको समयसीमा वैशाख २७ गते समाप्त भए पनि प्रतिबद्धता नआएपछि महासङ्घले चरणबद्ध आन्दोलनका  कार्यक्रम घोषणा गरेको छ । पहिलो चरणमा विज्ञप्ति जारी गरेको छ भने दोस्रो चरणको कार्यक्रममा गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको हो । वैशाख ३० गते शनिबार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा ‘धरान उपमहानगरपालिका स्तन्त्रतापूर्वक लेख्न र बोल्न देऊ, प्रेस स्वतन्त्रतालाई सम्मान गर’ नारा राखिएको थियो ।

वैशाख ३१ गते पत्रकाहरूले ‘तिमी शासक कि जनप्रतिनिधि, हामी यसको जवाफ पाउछौँ कि’ भन्ने नारा सामाजिक सञ्जालमा राखेका थिए ।