विजयपुर । धरान उपमहानगर प्रमुख हर्कराज राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गतिविधि गरेको विरोधमा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले मौन जुलुस निकालेको छ ।

सोमबार नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको नेतृत्वमा पत्रकारहरूले मौन जुलुस निकालेका हुन् । भानुचोकमा सुरु भएको जुलुस छाताचोक हुँदै धरान उपमहानगरमा पुगेर सम्पन्न भएको हो । मौनजुलुस समापनमा पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईले नगरप्रमुख राईले सुरुवातदेखि नै प्रेस स्वतन्त्रताविरुद्ध अभिव्यक्ति दिएको बताए । उनले भने, ‘प्रमुख राईले पार्टीको पत्रकार, झोले पत्रकार भन्दै पत्रकारहरूप्रति धावा बोल्दै आएका छन् ।’ उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत् सुरक्षा थ्रेटसमेत भएकोले आन्दोलनमा उत्रनुपरेको बताए । ‘पत्रकारले प्रश्न सोध्दा तिमी कुन पार्टीको भन्नेसम्मको दुस्साहस गर्नुभयो । पत्रकारले प्रश्न गर्न नपाउने हो त ?’ अध्यक्ष राईले प्रश्न गर्दै भने, ‘त्यो प्रेस स्वतन्त्रता विरोधी हो ।’

उनले महासङ्घका पूर्वअध्यक्ष केशव घिमिरेले बोलेको कुरालाई पुष्ट्याइँ माग गर्नु ठीक भए पनि प्रक्रिया विधि नभएको बताए । उनले भने, ‘मेयर राईले महासङ्घसँग समन्वय गर्नुपथ्र्यो होला अथवा तिक्ततापूर्ण नै हो भने पनि कानूनीरूपमा जान सक्नुहुन्थ्यो । तर, उर्दी जारी गर्नुभयो, जुन पञ्चायतीकालमा मात्र थियो ।’ यस्तै वरिष्ठ पत्रकार हर्ष सुब्बाले स्थानीय सरकारले स्थानीयस्तरका सञ्चारमाध्यम, पत्रकारहरूको हितको लागि प्रतिबद्धता जनाउनुपर्नेमा त्यसविपरीत कार्य गरेको बताए । ‘४ दिनसम्म आन्दोलन हुँदा युट्युबबाट मात्र आफ्नो भनाइ राख्नुहुन्छ । महासङ्घ पदाधिकारीहरू छन्, हामी सिनियर पत्रकारहरू छौं, मध्यस्थता गर्न तयार छौं । तर, टेवल टक गर्न बोलाउनु भएको छैन ।’

उनले भने, ‘यसले उहाँको नेतृत्व क्षमता कस्तो छ भन्ने देखिन्छ ।’ उनले प्रतिनिधिमूलक पत्रकार महासङ्घलाई बोलाएर माग कसरी सम्बोधन गर्नुपर्छ भनेर सल्लाह लिँदा हुने बताए । उनले भने, ‘हाम्रो आन्दोलन विशुद्ध सञ्चारमाध्यम, पत्रकारहरूको हित, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको लागि हो ।’ चरणबद्ध आन्दोलनको रूपमा यसअघि महासङ्घले धरान नगर प्रमुख हर्कराज राई र उनका समर्थकबाट पत्रकार असुरक्षित बनेपछि गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको थियो । सुनसरी शाखाले वैशाख २३ गते नगरप्रमुख राईलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । ३ दिने समयसिमासहित पत्रकारको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता माग गरिएको थियो । यस्तै पत्रकार र सञ्चार माध्यमलक्षित आप्mना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त गर्न आग्रह गरेको थियो । तर, महासङ्घको समयसीमा वैशाख २७ गते समाप्त भए पनि प्रतिबद्धता नआए पछि महासङ्घले चरणबद्ध आन्दोलनका  कार्यक्रम घोषणा गरेको छ ।

पहिलो चरणमा विज्ञप्ति जारी गरेको छ भने दोस्रो चरणको कार्यक्रममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । वैशाख ३० गते शनिबार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा ‘धरान उपमहानगरपालिका स्तन्त्रततापूर्वक लेख्न र बोल्न देऊ, प्रेस स्वतन्त्रतालाई सम्मान गर’ नारा राखिएको थियो । वैशाख ३१ गते पत्रकारहरूले ‘तिमी शासक कि जनप्रतिनिधि, हामी यसको जवाफ पाउँछौँ कि’ भन्ने नारा सामाजिक सञ्जालमा राखेका थिए । चरणबद्ध आन्दोलनमा आज (जेठ २) गते धरानमै पूर्व नगरप्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने शाखाले जनाएको छ । आजसम्ममा नगरपालिकाले प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्धता व्यक्त नगरे आन्दोलन थप कडा बनाउने महासङ्घका अध्यक्ष जनकऋषि राईले बताए ।