विजयपुर । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्ने एक जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरीका विषयमा प्रहरीले अनुसन्धान गरी कानूनी दायरामा नल्याई उल्टै छलफलमा मिलाउने प्रयास गरिरहेको पीडितले जनाएका छन् ।
वराहक्षेत्र–१ का बिपेन मगरविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वैशाख २७ गते ठाडो उजुरी परेको हो । उजुरी परे पनि प्रहरीले कानूनी कारबाही अगाडि नबढाएको पीडित बिमामाया मगरले जानकारी दिएकी छन् । बिमामायाका छोरालाई नेपाल प्रहरीको असइमा जागिर लगाइदिने भन्दै २ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ ।
उजुरीमा ‘वराहक्षेत्र–१ बस्ने विपिन भनिने बिपेन मगरले मेरो छोरालाई असइमा जागिर लगाइदिन्छु भनी मसँग २ लाख रुपैयाँ लिएर छोरालाई जागिर पनि नलगाइदिएको’ उल्लेख गरेकी छन् । जागिर नलगाएका कारण पैसा माग्दा दिन्छु दिन्छु भन्दै टार्दै आएको र फेरि पनि जागिर लगाइदिन्छु भन्दै आश्वासन दिने गरेको निवेदनमा उल्लेख छ ।
हालसम्म जागिर नलगाई ठगी गर्ने नियत रहेकाले आवश्यक कारबाही गरी रकम असुलउपर गरिदिन आग्रह गरेकी छन् । उजुरी परेको विषयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर राजेश दत्तले पीडित भनिएकाहरूले निवेदन पनि गेटमा फालेर गएको भन्ने सुन्नमा आएको बताए । उनले आफू बाहिर रहेकाले कार्यालयमा पुगेर उक्त विषय बुझ्ने बताए । उनले भने, ‘निवेदन गेटमा फालेर गएका छन् रे । बाहिर छु, आएपछि बुझ्छु ।’
यता रकम असुली गर्ने बिपेन मगरले पैसा लिएको स्वीकार गरे पनि आफू माध्यममात्रै भएको बताए । उनले भने, ‘पैसा लिएको हो, तर मैले लिएको हैन, माध्यम मात्रै भएको हो ।’ कसका लागि लिइएको हो भन्ने ब्लाष्टकर्मीको जिज्ञासामा उनले थपे, ‘अब मैले नै लिएको भनेर लेखिदिनुस् न ।’
उनले यस विषयमा इलाका प्रहरी कार्यालयमा छलफल भएको र आफूले पैसा दिने गरी चेकसमेत दिइसकेकाले विषय नै टुङ्गिएको बताए । उनले डिआइजीलाई दिनुपर्ने बताउँदै रकम लिए पनि आफूले अर्कै व्यक्तिलाई दिइसकेको बताए । बिपेनले इलाका प्रहरी कार्यालयमा छलफलपश्चात् २ लाख रुपैयाँको चेक आगामी जेठ ५ गतेको मितिमा रकम झिक्ने गरी चेक दिएका छन् ।
उक्त चेकप्रति पनि पीडितहरू विश्वस्त छैनन् । बिमामायाका पति डम्बरबहादुर मगरले बिपेनले सुरुमा आठ लाख रुपैयाँ मागेको दाबी गरे । उनका अनुसार आठ लाख, चार लाख हुँदै २ लाख रुपैयाँ चाहिँ लगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख एसपी प्रभु ढकालले जाहेरी दिएमा त्यस विषयमा अनुसन्धान हुने बताए । उनले भने, ‘प्रमाणसहित जाहेरी आएमा प्रहरीले अनुसन्धान गर्छ ।’