देउराली । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सञ्चालन गर्ने वातावरण निर्माण गर्नका लागि आज नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरू छलफलमा जुटेका छन् ।
उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा नगर प्रमुख हर्कराज राई, उपप्रमुख आइन्द्र विक्रम बेघा, ६ नम्बर वडाका अध्यक्ष भूपेन्द्र भट्टराई, १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई, १५ का अध्यक्ष नरेश इवारम, १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज) १८ का अध्यक्ष नरेश कुमार राई (प्रवीण) र २ का अध्यक्ष रमेश राई छलफलमा जुटेका थिए ।
छलफलमा पछिल्ला तिक्ततालाई भुलेर आइतबार कार्यपालिका बैठक बस्ने सहमति भएको नगर प्रमुख राईले बताएका छन् । तर , नगर प्रमुखबाट औपचारिक पत्र नआएको बैठक बस्ने बा नबस्ने भन्ने टुङ्गो लागि नसकेको धरान १५ का अध्यक्ष इवारमले बताएका छन् । उनले छलफल भएको जानकारी गराउँदै वडाध्यक्षहरूले राखेको मागको सम्बोधन गर्ने प्रतिबद्धता गरेको भए पनि औपचारिक पत्र नआएकोले आइतबार नै बैठक बस्छ वा बस्दैन भन्ने नसकिने बताए ।
उनले भने " बेलुकासम्ममा निष्कर्ष आउला छलफल भएको हो । नगर प्रमुखबाट पत्र आएको छैन । बैठक हुन्छ हुँदैन अहिले भन्न सकिँदै । " छलफलमा आइतबार बस्ने कार्यपालिका बैठकमा वडाध्यक्षहरूले राख्दै आएको छ बुँदे मागको सम्बोधन गर्न नगरप्रमुख सकारात्मक भएको धरान १७ का वडाध्यक्ष भट्टराईले बताए । उनले भने " छलफल भयो । वडाध्यक्षहरूको माग सम्बोधन गर्छु भन्नु भएको छ ।बैठक बोलाए, हामी कार्यपालिका बैठक जान्छौँ । "
उनले अब बोलाइने कार्यपालिका बैठकमा विगतमा वडाध्यक्षहरूले राखेका मागहरूको सम्बोधन नगरे कार्यपालिका बैठक अगाडी बढ्न नसक्ने बताए । नगर प्रमुखका स्वकीय सचिव भनिएका सुदर्शन लिम्बूले उपमहानगरको लेटर प्याड प्रयोग गरेर वडाध्यक्षहरूलाई पत्र काटेपछि उक्त विषयलाई लिएर गत चैत १ गतेको कार्यपालिका बैठक स्थगित भएको थियो । कार्यपालिका बैठकमा धारणा राख्ने क्रममा धरान १० का वडाध्यक्षलाई नगर प्रमुख साम्पाङले स्पष्टीकरण मागेपछि वडाध्यक्षहरू आन्दोलित बन्दै आएका छन् ।
सबै मिलेर नै जानुकाे विकल्प नभएकाे भन्दै ६ नम्बर वडाका अध्यक्ष भूपेन्द्र भट्टराई भने " सहमती भएकाे छ । बैठक अगाडी बढ्ने नबढ्ने नगरपिताकाे प्रस्तुतिले निर्धारण गर्छ । "
लामो समय देखी कार्यपालिका बैठक बस्न नसकेपछि आगामी बजेट प्रभावित हुने भन्दै उद्योग वाणिज्य संघ सुनसरीले समन्वयनको भूमिका खेलेर आइतबार बैठक बस्ने सहमति भइरहँदा धरान १७ को वडा कार्यालयमा नगर प्रमुख समर्थितले वडाध्यक्षमाथि आक्रमण गरेपछि कार्यपालिका बैठक बस्ने सहमति भाडिएको बताइएको थियो ।