काठमाडौँ  । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाल कन्ट्री रिपोर्ट (मे २०२३) सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ ।

आइएमएफले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गरेको तथा जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ । खाद्य असुरक्षाबाट नेपालको एक तिहाइ जनसङ्ख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आइएमएफले नेपालको १८ प्रतिशत जनसङ्ख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ ।

खाद्य असुरक्षाको असर औसत आयु, बालबालिकाको शारीरिक तथा बौद्धिक विकास, पुँजी निर्माणलगायत क्षेत्रमा देखिन्छ । नेपालले भारत, मलेसिया तथा खाडी मुलुकबाट रेमिट्यान्स प्राप्त गरेर अर्थतन्त्र धानिरहँदा अवस्थामा ती देशका मजदुर कानून, अध्यागमन कानून तथा विश्वव्यापीरूपमा देखिएको आर्थिक मन्दीको असर पनि यसमा देखिएको आइएमएफले जनाएको छ । विदेशबाट रेमिट्यान्स पाउने परिवारमा तथ्याङ्क हेर्दा सन् २०२२ अक्टोबरसम्ममा करिब २८ प्रतिशत परिवारले न्यून रेमिट्यान्स पाइरहेको आइएमएफ कन्ट्री रिपोर्टमा उल्लेख छ ।

त्यस्तै जलवायु परिवर्तनका असरले नेपालको आर्थिक विकासमा असर पारिरहेको आइएमएफले जनाएको छ । ‘पछिल्लो एक दशक अवधिमा नेपालमा शून्य दशमलव ६ डिग्रीले तापक्रम बढेको छ । मौसम पूर्वानुमान कठिनाइ छ । बाढी, पहिरोजस्ता समस्याले पूर्वाधार, कनेक्टिभिटीलगायतमा असर पु¥याएको छ’ प्रतिवेदनमा भनिएको छ ।

कोभिड–१९ को महामारी र रुस–युक्रेन तनावपछि विश्वव्यापी अर्थतन्त्रमा देखिएको असरका कारण सरकारी लगानी रहेका नेपालका सार्वजनिक संस्थानको वित्तीय अवस्था बिग्रिएको छ । जसका कारण सरकारको बजेटमा र वित्तीय अवस्थामा पनि असर परेको प्रतिवेदनमा जनाइएको छ । नेपालको दूरसञ्चार क्षेत्र र विद्युत् क्षेत्रमा नियामक निकाय स्थापना भए पनि नागरिक उड्डयन प्राधिकरणले आफै नियामकका रूपमा पनि काम गरिरहेको छ । यसलाई सुधार गरिनुपर्ने आइएमएफले औँल्याएको छ ।

त्यस्तै सरकारी वित्तीय संस्थाले अरू निजी क्षेत्रका वित्तीय संस्थासँग चर्को प्रतिस्पर्धा गर्नुपरेको छ । वस्तु व्यापारमा एकाधिकार भएका नेपाल आयल निगमजस्ता सार्वजनिक संस्थानबाट सरकारले पाउने राजस्व पछिल्ला वर्षमा घट्दै गएको छ । नेपाल आयल निगमले सन् २०२१÷२२ मा व्यहोरेको घाटाका कारण नेपालको जीडीपी वृद्धिदरमा एक प्रतिशतले घटेको आइएमएफको प्रतिवेदनमा उल्लेख छ । कोभिड महामारीयता सार्वजनिक संस्थानबाट सरकारले प्राप्त गर्ने राजस्व घटेको छ ।

आर्थिक वर्ष २०१८/१९ मा सात अर्ब ६४ करोड ३० लाख बराबर आयकर तिरेका सार्वजनिक संस्थानले सन् २०१९/२० मा यस्तो आयकर ११ अर्ब दुई करोड ५० लाख पुगेको तर, कोभिड महामारी पछि सार्वजनिक संस्थानबाट सरकारले प्राप्त गरेको आयकर सन् २०२०/२१ मा पाँच अर्ब ५२ करोड ६० लाख र २०२१/२२ मा छ अर्ब ३४ करोड ६० लाखमा खुम्चिएको देखिन्छ । त्यस्तै सार्वजनिक संस्थानबाट सरकारले पाएको मुनाफा सन् २०१८/१९ मा नौ अर्ब ४७ करोड १० लाख र सन् २०१९/२० मा १४ अर्ब १० करोड पुगेको थियो । तर, महामारीपछि सन् २०२०/२१ मा मुनाफा छ अर्ब ७२ करोड १० लाख र सन् २०२१/२२ मा चार अर्ब २४ करोड ४० लाखमा खुम्चिएको देखिन्छ ।

यसरी पछिल्ला वर्षमा सार्वजनिक संस्थाले तिरेको आयकर र नाफा घट्दा ती क्षेत्रले मुलुकको कुल गार्हस्थ उत्पादनमा गरिरहेको योगदानको अंश पनि घट्दै गएको छ । आइएमएफको रिपोर्टअनुसार सार्वजनिक संस्थानले तिरेको आयकरले जिडीपीमा गरेको योगदान हेर्दा सन् २०१८/१९ मा शून्य दशमलव २०, सन् २०१९/२० मा शून्य दशमलव २८ प्रतिशत बराबर थियो । तर, सन् २०२०/२१ र सन् २०२१/२२ मा त्यो घटेर शून्य दशमलव १३ प्रतिशतमा खुम्चिएको छ ।

त्यस्तै जिडीपीमा सार्वजनिक संस्थानको लाभांशको हिस्सा पनि क्रमशः घट्दै गएको छ । सन् २०१८/१९ मा शून्य दशमलव २५ प्रतिशत र सन् २०१९/२० मा शून्य दशमलव ३६ प्रतिशत बराबर रहेको यस्तो हिस्सा सन् २०२०/२१ मा शून्य दशमलव १६ प्रतिशत र सन् २०२१/२२ मा शून्य दशमलव ०९ प्रतिशतमा झरेको छ ।

नेपालमा हाल सरकारी लगानीका ४२ वटा सार्वजनिक संस्थान छन् । जसमध्ये १० वटा औद्योगिक क्षेत्रका, चारवटा व्यापार क्षेत्रका, नौवटा सेवा क्षेत्रका, पाँचवटा सामाजिक क्षेत्रका, पाँचवटा उपयोगिताका र नौवटा वित्तीय क्षेत्रका सार्वजनिक संस्थान छन् । यी सार्वजनिक संस्थानको पुँजी नेपालको कुल गार्हस्थ उत्पादनको ५१ प्रतिशत र दायित्व ३३ प्रतिशत बराबर छ ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नेपाल आयल निगम, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल वायुसेवा निगम र नागरिक लगानी कोषलगायत सार्वजनिक संस्थाको ९४ प्रतिशत पुँजी रहेको छ ।