विराटनगर । बाटो छेकेर सीएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि उच्च अदालत विराटनगरले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलासले माघ २३ गते दुवै पक्षलाई छलफलको लागि आउन शुक्रबार आदेश दिएको हो । विराटनगर महानगरपालिका–२ शङ्करपुर मार्गमा आयोजित एक्स्पोमा सार्वजनिक सडकको आवागमन रोकिने गरी एक्स्पो आयोजना गरिएको भन्दै विराटनगर–९ का विन्दानन्द नुन्दीले बिहीबार उच्च अदालत विराटनगरमा निषेधाज्ञा, उत्प्रेषण र परमादेशको माग गर्दै रिट निवेदन दिएका थिए ।
नुन्दीले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, नेपाल उद्योग परिसङ्घ प्रदेश, विराटनगर वडानम्बर २ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई विपक्षी बनाएर रिट निवेदन अदालतमा दिएकी थिइन् ।
आर्थिक मन्दी छाएको बेलामा एक्स्पोका माध्यमबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै उक्त स्थानमा रहेको निजी खाली जग्गामा एक्स्पोको आयोजना गरिएको थियो । सडकको दुवैतर्फ रहेको खाली जग्गामध्ये एउटामा जग्गामा मात्रै एक्स्पोका सबै संरचना नअट्ने भएपछि करिब ५० मिटर सडकलाई स्थानीय तह र सुरक्षा निकायसँगको समेत समन्वयमा बन्द गरिएको थियो ।
बन्द गरिएको सडक–खण्डमा घरहरू नभएको र नजिकैबाट वैकल्पिक सडकको व्यवस्था भएको अवस्थामा त्यसले आवागमनमा कुनैपनि कठिनाइ नहुने निष्कर्षमा सबै निकाय पुगेका थिए ।
बैङ्कको चर्को ब्याज, बिमा कम्पनीको चर्को प्रिमियन र विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङको मारमा रहेका उद्योगी व्यवसायीहरूले साहस गरेर एक्स्पो आयोजना गरेको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । घिमिरेले अदालतले दिएको कारण देखाउ आदेशलाई सम्मान गर्दै तोकिएको म्यादभित्रै जवाफ दिने बताए ।
नेपाल उद्योग परिसङ्घ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोसी एक्स्पो सुरु भएको छ ।
विराटनगर–२ शङ्करपुरमा सुरु भएको एक्स्पोको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरे । माघ २८ गतेसम्म सञ्चालन हुने एक्स्पोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरू रहेको उद्योग परिसङ्घ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई केही सहयोग पुग्ने उनले बताए । एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरू पनि रहेका छन् ।
एक्स्पोलाई रोचक र ज्ञानबद्र्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरियम स्थापना गरिएको छ । विशेष किसिमको कक्षभित्र ३ सय ६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने, विभिन्न उमेरअनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरू र तारामण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने पनि आयोजकले जनाएको छ ।
साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । मेलामा देश तथा विदेशका गरी ३ लाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान आफूहरूको रहेको आयोजकको दाबी छ ।