सुनसरी । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४५ करोड बढी राजस्व असुली गरेको छ ।
सुनसरी भन्सार कार्यालयले वार्षिक ८२ करोड ९३ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ४५ करोड ८८ लाख ९५ हजार राजस्व सङ्कलन गरेको हो । जुन वार्षिक लक्ष्यको ५५ दशमलव ३३ प्रतिशत हो ।
सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४३ करोड २० लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ महिनाको अवधिमा १ सय ६ दशमलव २२ प्रतिशत अर्थात् ४५ करोड ८८ लाख ९५ हजार राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ ।
सुनसरी भन्सार कार्यालयले साउन महिनामा ६ करोड ५७ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ६ करोड ९५ लाख ११ हजार अर्थात् १ सय ५ दशमलव ७१ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने भदौ महिनामा ७ करोड २६ लाख ९६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १ सय ३२ दशमलव ६१ प्रतिशत अर्थात् ९ करोड ६४ लाख ३ हजार राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी असोज महिनामा ६ करोड ८२ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ५ करोड ५८ लाख ६० हजार अर्थात् ८१ दशमलव ८८ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको थियो भने कात्तिक महिनामा ६ करोड ५५ लाख ८६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ७ करोड ८९ लाख ४५ हजार अर्थात् १ सय २० दशमलव ३७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै मङ्सिर महिनामा ७ करोड ८५ लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा सुनसरी भन्सार कार्यालयले ९ करोड १ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो भने पुस महिनामा ८ करोड ११ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ करोड ८० लाख १२ हजार अर्थात् ८३ दशमलव ८० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।
वार्षिक लक्ष्य पुर्याउन चुनौती
चालु आर्थिक वर्षको सुरुवाती ६ महिनाको अवधिमा अपेक्षाभन्दा बढी राजस्व असुल गरेको सुनसरी भन्सार कार्यालयलाई वार्षिक लक्ष्य भेट्टाउन चुनौतीपूर्ण हुने देखिएको छ । भारत बिहारको मिरगञ्ज पुल मर्मत हुँदा भण्टाबारी नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोगमा आएपछि सुनसरी भन्सार कार्यालयलाई राजस्व सङ्कलन गर्न सहयोग पुगेको थियो ।
यद्यपि उक्त पुल सञ्चालन आउनु, व्यापारमा मन्दी आउनु, धान र गहुँमा कोटा तोकिनु, अपेक्षाभन्दा बढी सुनसरी भन्सार कार्यालयले वार्षिक लक्ष्यप्राप्तिको लक्ष्य राख्नु जस्ता कारणले आगामी दिनमा राजस्व असुल गर्न निकै चुनौतीपूर्ण हुने सङ्केत देखिएको सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत गणपति कँडेल बताउँछन् ।
‘सुनसरी भन्सार कार्यालयले विगतमा औसत ५० करोड राजस्व असुली गर्ने लक्ष्य राख्ने गरेको देखिन्छ’ उनले भने, ‘यसपटक भने एकैपटक ३० करोड बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । व्यापारमा मन्दी छ, सुनसरीका नाका हुँदै विगतमा आउने कतिपय सामान अन्यत्रबाट पनि आउन थालेको छ, त्यसैले यही अवस्थामा वार्षिक लक्ष्य भेट्टाउन निकै चुनौतीपूर्ण हुने देखिन्छ ।’