बिर्तामोड । निर्वाचनको मिति नजिकिंदै गर्दा झापाका राजनीतिक नेताहरुबीच टिकटको लागि दौडधुप शुरु भएको छ । खासगरी नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु टिकटको रस्साकस्सीमा लागेका छन् ।
सत्तारुढ दलको गठबन्धनबाट उम्मेद्वार बन्न चाहने नेताभने टिकट बाँडफाँडको प्रतिक्षामा रहेका छन् । नेकपा एमालेका नेताहरु टिकट हात पार्न दौडधुप शुरु गरेका छन् । एमालेले गठबन्धन नगरी निर्वाचनमा जाने बताइसकेको छ । यद्यपी राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग एमालेले चुनावी तालमेल गर्नसक्ने सम्भावना अझै जिवित छ ।
केही दिन अघि झापामा पत्रकार सम्मेलन गरेर राप्रपा अध्यक्ष लिङदेनले एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरेका थिए । यद्यपी लिङदेनको निर्वाचन क्षेत्र रहेको कचनकवलमा एमाले अध्यक्ष ओलीले झण्डै १५०० जना उनका कार्यकर्ता एमाले प्रवेश गराएपछि उनी सशंकित बनेका छन् । ओलीले चर्चित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँलाई झापा क्षेत्र नम्बर ३ मा उठ्ने तयारी गर्न भनिसकेका छन् । प्रसाईँ पनि झापा ३ केन्द्रित गतिविधीमा ब्यस्त रहने गरेका छन् ।
साविक मेची अञ्चलको ब्यापारिक केन्द्र तथा प्राय सबै राजनीतिक दलको जिल्ला कार्यालय रहेको झापा क्षेत्र नम्बर २ मा यसपटक नेकपा एमाले र गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसबीच भिडन्त हुने लगभग पक्का जस्तै छ । नेकपा एमालेबाट स्थायी कमिटी सदस्य तथा झापा इञ्चार्ज अग्नि खरेल र स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज देबराज घिमिरे टिकटको दौडमा छन् ।

लामो समय पार्टी संगठन निर्माणमा भूमिका खेलेका तथा शालिन छवि बनाएका घिमिरेले यो पटक झापा क्षेत्र नम्बर २ मा उम्मेद्वारी दिने मनसाय बनाएका छन् । झापा इञ्चार्ज खरेल भने यस क्षेत्रबाट निर्वाचनमा उठ्न तीनबर्ष अघि यहाँ बसाईँ सरेर आएका हुन् । गौरादह स्थायी घर भएका खरेल हाल बिर्तामोड नगरपालिका–५ मा बसोवास गर्न थालेका छन् ।
यस क्षेत्रका केही सार्वजनिक सरोकारका समस्यामा हस्तक्षेपकारी भूमिका निर्वाह गरेका खरेललाई एमालेभित्र ‘काम गर्न सक्ने नेता’ का रुपमा हेर्न थालिएको छ । भु–माफियाले हत्याएको डोमालाल राजबंशी रंगशालाको करोडौं मुल्य बराबरको जमिन खरेलको पहलमा फिर्ता भएको थियो । यस्तै रामचोकमा रहेको मोहनमाया माविको जमिन पनि खरेलकै पहलमा बिद्यालयको स्वामित्वमा आएको थियो । पार्टीका गतिविधिमा संलग्न हुँदा सार्वजनिक महत्वका समस्या खोज्दै समाधानका लागि हस्तक्षेपकारी भूमिका खेल्ने भएका कारण खरेललाई झापा क्षेत्र नम्बर २ मा एमालेबाट बलियो दावेदारका रुपमा हेरिएको छ ।
गठबन्धन दलहरुले भने अहिले नै उम्मेद्वारको चर्चा गर्न हतार हुने धारणा राखेका छन् । यो क्षेत्र कुन पार्टीको भागमा पर्छ भन्ने टुङगो नभएकाले गठबन्धनमा सहभागि दलका नेता उम्मेद्वार हुन इच्छुक भएपनि अगाडि आएका छैनन् । यद्यपी नेपाली कांग्रेसबाट केन्द्रिय सदस्य केशबकुमार बुढाथोकी, सरिता प्रसाईँ र पुर्व केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले उम्मेद्वारीको आकांक्षा राखेका छन् । यस क्षेत्रमा कांग्रेसका प्रदेश सभापति उद्धव थापा पनि उम्मेद्वार हुन सक्ने सम्भावना छ । तर, अघिल्ला दुई निर्वाचनमा लगातार यही क्षेत्रबाट पराजय ब्यहोरेका कारण उनको नाम अरु नेताको जस्तो चर्चामा छैन ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा यस क्षेत्रबाट नेकपा एमालेका उम्मेद्वार पवित्रा निरौला खरेल बिजयी भएकी थिइन् । खरेलले ४५ हजार ८१७ मत पाउँदा कांग्रेसका तत्कालिन जिल्ला सभापति उद्धव थापाले ३२ हजार ५० मत मात्र ल्याएका थिए । बाम गठबन्धन गरेर निर्वाचनमा होमिएका कारण खरेलले थापामाथि सहज जित हात पार्न सफल भएकी थिइन् । तर, यतिबेला तत्कालिन बाम गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्र कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागि हुने तयारीमा छ ।
एमालेले सहज जित हुने आकलन गरेको झापा २ मा बुद्धशान्ति गाउँपालिकाको वडा न १, २ र ३, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको वडा नम्बर १ देखि ९ र कनकाई नगरपालिकाको वडा न ८ र ९ पर्छ । २५ वटा वडा रहेको यस क्षेत्रमा बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले १३ वटा वडा जितेको छ । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले ११ र राप्रपाले १ वडामा जित हासिल गरेका छन् । माओवादी र नेकपा एसले यहाँ कुनै वडा जित्न सकेका छैनन् ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा बुद्धशान्ति गाउँपालिकामा अध्यक्ष जितेको छ । उपाध्यक्ष सहित बहुमत वडाहरु एमालेले जितेको छ । अर्जुनधारा, बिर्तामोड नगरपालिकामा मेयर र उप–मेर नै जितेको एमालेले कनकाई नगरपालिकामा मेयर मात्र जित्न सफल भएको छ । कनकाइ नगरपालिकामा उप–मेयर नेपाली कांग्रेसले जितेको छ ।
वडागत मत अनुसार नेकपा एमालेले यस क्षेत्रबाट ३६ हजार ४८६ मत ल्याएको छ । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ३२ हजार ६७२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार ५११ र चारवटा वडामा उम्मेद्वारी दिएको माओवादी केन्द्रले २ हजार ४३७ मत ल्याएको देखिन्छ । सत्तारुढ गठबन्धनका उम्मेद्वारको पक्षमा यहाँ ३५ हजार १०९ मत, नेकपा एमालेको पक्षमा ३६ हजार ४८६ र राप्रपाको पक्षमा ९ हजार ५११ मत रहेका कारण राप्रपा यहाँ निर्णायक अवस्थामा छ ।
एमाले र सत्तारुढ गठबन्धनबीच स्थानीय तहमा ठुलो मत अन्तर नभएपनि आगामी निर्वाचनमा उम्मेद्वार छनौटले परिणाम दिनसक्ने अवस्था छ । यहाँ नयाँ दलबाट निर्वाचन परिणाम नै हात पार्न सक्ने वा स्वतन्त्रबाट निर्वाचन जित्नसक्ने अवस्था बलियो नभएको अवस्था छ । चर्चित कानुन ब्यवसायी स्वागत नेपाल समेत मतदाताको रोजाई बुझ्न क्षेत्र दौडाहामा रहेपनि अहिले नै उनको पक्षमा माहौल बन्न सक्ने भने देखिदैन ।