विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई निर्वाचित हुनपूर्व फेसबुकमा जति सक्रिय थिए । निर्वाचित भएपछि थप सक्रिय बनेका छन् । उनी सामाजिक सञ्जालमा संस्कार सिकाउने अभिव्यक्ति दिन्छन् तर, आफै सामान्य शिष्टाचारसमेत बिर्सिएर जथाभाबी शब्द प्रयोग गर्छन् ।

धरान प्रमुख राईले ३ महिनामा प्रयोग गरेका शब्दहरूलाई नियाल्ने हो भने निम्नस्तरका शब्द प्रयोग गरेको देखिन्छ । उनले प्रयोग गरेका शब्दहरू ‘झ्यास झुस थु’, ‘फुइँ’ ‘नालायक’ ‘नाथे’ ‘उस्स्स’ देखि ‘पाद’ सम्म छन् । यी उदाहरणमात्रै हुन् । प्रमुख राईले दिने अभिव्यक्तिमा तल्लो स्तरका शब्दहरू मात्रै प्रयोग भएको पाइन्छ ।

जथाभावी अभिव्यक्ति दिँदा तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । उनले बङ्गलादेशमा एमबीबीएस अध्ययनरत् विद्यार्थीहरू लक्षित नकारात्मक टिप्पणी गरेकाले राजीनामा दिनु परेको थियो ।

त्यस्तै गायक दुर्गेश थापाले गीतमा ‘ख्यास्स पुतली’ शब्द प्रयोग गर्दा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निष्काशित गरेको थियो । यी २ उदाहरणले सार्वजनिक पदधारण गरेका वा सामाजिक व्यक्तिले अभिव्यक्ति दिँदा कति संवेदनशील हुनुपर्छ भन्ने कुरा देखाउँछ । धरान उपमहानगर प्रमुख राई भने यस्ता कुनै कुरा ख्याल नगरी जथाभावी लेख्ने र बोल्ने गर्छन् ।

उपमहानगरको प्रमुखले कुनै व्यक्ति वा विषयप्रति  बोल्दा संवेदनशील हुनुपर्ने भन्दै उनीमाथि प्रश्न उठ्न थालेको छ । किनभने यस्ता शब्द कुनै व्यक्तिले होइन, नगर प्रमुखले प्रयोग गरिरहेका छन् ।

उनले ‘झ्यास झुस थु’, ‘फुइँ’ ‘नाथे’ ‘उस्स्स’ जस्ता शब्द एमाले केन्द्रीय सदस्यसमेत रहेकी निवर्तमान उपप्रमुख मञ्जु भण्डारीलाई लक्षित गरेर सामाजिक सञ्जालमा प्रयोग गरेका थिए । उनले निवर्तमान उपप्रमुख भण्डारीलाई ‘झ्यासहरू आफूसँग तुलना हुन नसक्ने’ भनेर सार्वजनिक स्थलमा सञ्चारकर्मीसँग बोलेका थिए ।

व्यक्तिगत वा विषयगत रूपमा मतभिन्नता रहे तापनि यति तल गिरेर टिकाटिप्पणी गर्नु कति सान्दर्भिक छ ? भन्ने प्रश्नमा भाषाविद् प्रा.डा.टङ्क न्यौपानेले नगर प्रमुखले तल्लो स्तरका शब्द प्रयोग गर्नु ठीक नभएको बताए । उनले भने, ‘कार्य प्रणाली ठीक छ तर, अभिव्यक्ति ठीक छैन, सुधार गर्नुपर्छ ।’ उनले सार्वजनिक स्थानमा घरपरिवारभित्र दिने अभिव्यक्ति दिन नहुने बताए । ‘घरपरिवारमा बोल्ने भाषा सार्वजनिक ठाउँमा प्रयोग गर्नु भएन नि’ उनले भने, ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले कूटनीतिक भाषा, शब्द प्रयोग गर्नुपर्छ ।’

प्रमुख राईले त्यतिमात्रै होइन, ‘नालायक’ ‘नाथे’ जस्ता शब्द आफ्नो आलोचना गर्ने व्यक्ति तथा नेतृत्वहरूप्रति लक्षित गर्दै प्रयोग गर्ने गरेका छन् । उपमहानगरका प्रमुख राईका कुनै व्यक्ति, समूह, संस्थाप्रति लक्षित निच शब्दले धरानेहरूलाई लज्जित बनाएको बुद्धिजीवी डा. राजेन्द्र शर्माले बताए । उनले भने, ‘प्रमुख राई जस्तो परिवेशमा शिक्षित–दीक्षित भए, त्यस्तै शब्द प्रयोग गरिरहेका छन् । जननिर्वाचित भएपछि पदको शिष्टाचार राख्नुपर्छ ।’ उनले प्रमुख राईले सामान्य शिष्टाचार पनि नराखेको बताए । उनले शिष्टाचार सिकेर अभिव्यक्तिमा सुधार गर्न सुझाए । उनले भने, ‘नेपालीहरूमा ५ तहका आदरार्थी शब्द छन् । तँदेखि मौसुफसम्म ।’

केही दिनअघि प्रमुख राईले सामाजिक सञ्जालमा कानूनविपरीत ‘श्रमदान गर्न नआउने विद्यार्थीलाई फेल गराइने’ अभिव्यक्तिसमेत दिएका थिए । शिक्षाका जानकारहरू प्रमुख राईकोे श्रमदान गर्न नआउने विद्यार्थीलाई कक्षा अनुत्तीर्ण गराउने अभिव्यक्तिप्रति असहमत छन् ।

प्रा.डा. न्यौपानेले प्रमुख राई स्कुले विद्यार्थीहरूलाई अनिवार्य श्रमदान गर्नुपर्ने, नभए फेल गराइदिने अभिव्यक्तिप्रति असहमति जनाए । डा. शर्माले नीतिगत रूपमा प्रमुख राई नचलेको बताउँदै भने, ‘प्रमुख राईको श्रमदान नगर्ने विद्यार्थीलाई कक्षामा फेल गराउने अभिव्यक्ति नीतिसङ्गत छैन ।’ उनले शिक्षा ऐनमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने अधिकार दिएको बताए । उनले भने, ‘पाठ्यक्रम श्रमदानसँग जोडिने निर्माण गर्दा हुन्छ ।’

तर, प्रमुख राईले बढी हौसिएर अभिव्यक्ति दिने गरेको उनले बताए । डा. शर्मा प्रमुख राईले स्वास्थ्यक्षेत्रमा सुधार ल्याएका विषयमा आंशिक सहमत छन् । उनले भने, ‘विद्यालयको स्थलगत रूपमा अनुगमन गरेर सम्झाएका छन् । यो चाहिँ सुधारको सुरुवात हो ।’