विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई निर्वाचित भएयता चर्चाको शिखरमा छन् । सामाजिक सञ्जालहरूमा टिकाटिप्पणी गरिरहने उनले ‘आफू चढ्ने गाडी बेचेर भए पनि धरानका सडकको खाल्डाखुल्डी पुर्ने’ भनी कार्यपालिका बैठकमा भनेको कुरा हावामा परिणत भएको छ ।
प्रमुख राईले खानेपानी, स्वास्थ्य संस्थाका विकृति विसङ्गतिविरुद्ध चर्को रूपमा आन्दोलन गर्दै गत जेठ १० गते उपमहानगरपालिकाको पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको शुक्रबार ३ महिना पूरा भएको छ । उम्मेदवार बनेदेखि नै चर्चाको शिखरमा रहेका राईले गाडी नचढ्ने मौखिक घोषणा गरे । उक्त घोषणाले ‘जनताको प्रतिनिधि यस्तो हुनुपर्छ’ भन्दै चर्चा परिचर्चा भयो । धरानभित्र गाडी नचढ्ने घोषणा गर्ने क्रममा किन नचढ्ने भन्ने जिज्ञासामा ‘म करोडको गाडीमा हिँडेँ भने सडकको खाल्डाखुल्डी देख्दिनँ । मैले त खाल्डाखुल्डी हेरेर पुर्नु छ’ भनेका थिए । यो अभिव्यक्तिले प्रमुख राईको चर्चा थप चुलियो । राईले एकदिन नगर कार्यपालिका बैठकमा आफू चढ्ने गाडी बिक्री गर्ने सोचमा रहेको सुनाए । उनले ‘म मेयर चढ्ने गाडी नै बिक्री गर्ने सोचमा छु । सानो साइजको सडक बनाउने रोलर ३० लाख जतिमा आउँदो रहेछ । गाडी बिक्री गरेर खरिद गर्ने सोचमा छु । सहमत हुनुहुन्छ भने ताली बजाऔँ’ कार्यपालिका सदस्यलाई यसो भनेका थिए । अनौपचारिक रूपमा कार्यपालिका सदस्यले ताली बजाएर अनुमोदन पनि गरेका थिए ।
धरान उपमहानगर प्रवक्तासमेत रहेका धरान–१७ अध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) ले गाडी बेच्ने विषयमा अनौपचारिक कुरा भएको तर, हालसम्म कार्यपालिकाको सूचीमा नै नपरेको बताए । उनले भने, ‘फेसबुकमा आयो । सडकका सबै खाल्डाखुल्डी पुरिसकिएको छ, देख्नुहुन्न ?’ उनका अनुसार अनौपचारिक रूपमा गाडी बिक्री गर्ने कुरा भएयता ३ वटा कार्यपालिका बैठक सम्पन्न भएको छ । उनी भन्छन्, ‘कार्यपालिका बैठकमा त्यस्तो कुरा प्रवेश गर्ने भन्ने भएन ।’
प्रमुख राईको हनिमुनको समय सकिएको छ । तर, धरानका सडकका खाल्डाखुल्डी पुर्ने र रोलर किन्ने सपना भने सपनामै सीमित छ । धरानका सडकको खाल्डाखुल्डीको अवस्था के छ भन्नका लागि धरान–२ स्थित रत्नरोडलाई हेरे पुग्छ । अति व्यस्त सडकमा पर्ने उक्त सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी भेटिन्छन् । भानुचोकस्थित वडा प्रहरी कार्यालय आसपास मुख्य बजार नै पर्छ । वडा प्रहरी कार्यालय दक्षिणबाट आचार्य लाइन प्रवेश गर्ने र शान्तिपथ प्रवेश गर्ने मार्गमा पनि खाल्डाहरू छन् । धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डेन्टल गेटबाट उत्तर आउने सडकमा पनि उस्तै गरी खाल्डाहरू छन् । जुन नगर प्रमुखको आफ्नै क्षेत्र पर्छ । भोटेपुलदेखि बीपी प्रतिष्ठानका जाने सडकको अवस्था हेरिनसक्नु छ । यस्तै, कोसी राजमार्गको भोटेपुलनजिक पनि उस्तै अवस्था छ । तर, धरान नगर प्रमुखको प्रतिबद्धताअनुसार खाल्डाखुल्डी पुर्न कुनै पनि निकाय लागिपरेको छैन ।

धरान भोटेपुलमा पुस्तक पसल सञ्चालन गरेर बसेका विनोद रिजालले खाल्डाखुल्डी नपुर्दा दिनहुँ जस्तो दुर्घटना हुने गरेको बताए । उनले बिहीबार पनि दुर्घटना हुँदा घाइते भएको व्यक्ति भर्ना हुनुपरेको बताउँछन् । उनले भने, ‘भोटेपुल हाई–वेको खाल्डो पुर्नका लागि निवर्तमान प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आएर अवलोकन गरे पनि समाधान गरेनन् ।’ उनले वर्तमान प्रमुख हर्कराज राईले हालसम्म अवलोकनसमेत नगरेको बताए । उनले भने, ‘नयाँ प्रमुखले पनि सामान्य काम ३ महिनासम्म गरेनन् । सामाजिक सञ्जालमा मात्रै काम भयो । वास्तविकतामा पाइएन ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर श्यामकुमार बस्नेतले खाल्डाखुल्डीका कारणले पनि दुर्घटना हुने बताए । उनले भने, ‘खाल्डाखुल्डीले मात्रै हुँदैन । चालक संयमित हुनुपर्छ ।’ नयाँ मान्छे घुम्न आउँदा खाल्डोमा पर्ने गरेको इन्स्पेक्टर बस्नेतले बताए । सडकका खाल्डाखुल्डीले सडक दुर्घटनाको जोखिम बढेको उनले बताए ।