पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका—१ स्थीत सावा खोलाको बिवाद टुङगिएको छ । पक्की पुल निर्माण गर्दै आएको निर्माण पक्ष र जग्गादाताहरु बीच सहमती भएसंगै बिवाद टुङगिएको हो । सडक निर्माणको क्रममा पुल आसपासको जग्गामा क्षति हुने भन्दै स्थानीयले सडक निर्माणमा अवरोध गरेका थिए । लामो समयको बिवाद पछि निर्माण पक्ष र स्थानीयको सहमती अनुसार क्षतिपूर्ति र भत्किएको खेत बनाउने सहमतीपछि बिवाद टुङगो लागेको हो ।
कुम्मायक र तुम्बेवा गाउँपालिका—१ मा निर्माण हुदै आएको पक्की पुल निर्माणको क्रममा स्थानीयले अवरोध गरेका थिए । योजनाको काममा अवरोध गर्दै आएका स्थानीयको माग सम्बोधन गरेपछि समस्या समाधान भएको पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर निर्मल कोइरालाले बताए ।
खोलामा धान खेती गर्दै आएका स्थानीयको खेतमा सिचाँही गर्न होमपाइप राख्ने, खेतमा ग्याबिङ पर्खाल निर्माण गर्ने सहमती भएको छ । त्यस्तै स्थानीयले लगाएको खयरका विरुवाको क्षति बापत निर्माण कम्पनीले ५० हजार दिने भएपछि सहमती जुटेको निर्माण व्यवसायि दिनानाथ अधिकारीले बताए । “हामीलाई सरकारले क्षतिपूर्तिका लागि छुट्टै व्यवस्था गरेको हुदैन उनले भने् निर्माण कम्पनीले योजनाको काम समयमै सम्पन्न गर्न केही सहयोग गरेका हौ, अधिकारीले भने ।
पूर्वाधार विकास कार्यालय पाँचथरले जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकालाई छोटो दुरीमा जोड्न खोलामा पक्की पुल निर्माण कार्य सुरु गरेको थियो । मैनाचुली निर्माण सेवा पाँचथरलाई २०७६ असोजमा ६ करोड ४० लाख ५८ हजार ४ सय ४६ रुपैयाँ ठेक्का दिएको थियो । ४० मिटर लम्बाइ भएको पुल निर्माणको काम पूरा गरेको निर्माण कम्पनीले दुबै तर्फको सडक अवरोधका कारण अघि बढाउन सकेको थिएन । तर सहमती जुटेसंगै योजनाको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।