बर्तामोड। झापाका अस्पतालले खोलामा फालेको फोहोर उठाएका छन् । अस्पतालबाट उत्पादित फोहोर खोलामा फालेको बिषयमा बिभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अस्पतालले फोहोर उठाएका हुन् ।
अस्पतालको फोहोर ब्यवस्थापनको ठेक्का पाएको ‘ग्लोबल हाइजिन एण्ड सेनिटेसन’ ले रातारात फोहोर उठाएको स्थानीयले बताए । जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने तयारी गरिरँहदा खोलाबाट फोहोर उठाइएको हो । खोलाबाट पुनः उठाइएको फोहोर कहाँ फालियो ? भन्ने जानकारी ब्यवस्थापनले दिएको छैन ।
सो कम्पनिले फोहोर उठाएपनि अस्पतालमा प्रयोग भएका सिरिञ्ज खोलाभरी भेटिएका छन् । प्लाष्टिकको थैलोमा हालेर खोलामा फालिएको फोहोर प्लाष्टिक च्यातिएर छरिएको अवस्थामा पाइएको छ । जसका कारण त्यहाँ हिडडुल गर्ने स्थानीय सिरिञ्ज खुट्टामा गाडिन सक्ने सम्भावना रहेको बताउँछन । ‘यहाँ फालिएका सम्पुर्ण फोहोर संकलन गर्न सम्भव छैन, स्थानीय कमलबहादुर थापाले भने– ‘आदिवासी समुदायले प्रयोग गर्ने घाट यहाँ रहेका कारण उनीहरुले अन्तेष्टी कर्म गर्न अन्यत्र जानुपर्ने अवस्था उत्पन्न भएको छ ।’
बिर्तामोडको बीएण्डसी अस्पताल बाहेक सम्पुर्ण अस्पतालको फोहोर ब्यवस्थापन गर्ने जिम्मा सो कम्पनिले लिएको बुझिएको छ । कम्पनिले अस्पतालसँग सम्झौता गरेर मासिक रुपमा शुल्क लिदै फोहोर ब्यवस्थापनको काम गर्दै आएको छ । छुतहर मल्लिक सञ्चालक रहेको सो कम्पनिले तत्कालिन डाँगिवारी गाविस वडा न ६ मा रहेको जमिनमा फोहोर ब्यवस्थापन गर्ने सम्झौता गरेको पाइएको छ ।

यसैबीच झापाका खोलानालामा अस्पतालबाट उत्पादित फोहोर फालेको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले अस्पताल सञ्चालकलाई प्रशासन कार्यालयमा बोलाएर फोहोर नफाल्न निर्देशन दिएको छ ।
भेलामा सहभागि अस्पताल सञ्चालकहरुले आगामी दिनहरुमा यस प्रकारको गल्ती नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ । अस्पतालले फोहोर मैला ब्यवस्थापन ऐन २०६८ बमोजिम फोहोर मैला ब्यवस्थापन गर्ने तथा यसको अनुगमन स्थानीय तहले गर्ने सहमति भएको झापाका प्रमुख जिल्लमा अधिकारी छविलाल रिजालले जानकारी दिए ।