बिर्तामोड । झापाका अस्पतालमा उत्पादित फोहोर बिरिङ खोलामा जथाभावी फालिने क्रम बडेपछि त्यहाँको पानी दुषित बन्न थालेको छ । बिर्तामोडमा सञ्चालित अधिकांस हस्पिटलबाट उत्पादन भएका फोहोर बिरिङ खोलामा फाल्न थालेपछि रोगको संक्रमण फैलिनसक्ने अवस्था उत्पन्न भएको छ ।
खोलामा फालिएका फोहोरको थुप्रोमा बिर्तामोडका मनमोहन अस्पताल, बिर्तामोड आँखा अस्पताल लगायतमा उत्पादन भएका फोहोर रहेको पाइएको छ । हस्पिटलमा प्रयोग गरिएका सिरिञ्ज, बोतल, प्याड, अपरेसन कक्षमा प्रयोग गरिएका सामग्री, ग्लोब्स तथा रगत लतपतिएका कपडा खोलामा फाल्ने गरिएको पाइएको छ । खोलाको एक किलोमिटर क्षेत्रमा अस्पतालका फोहोरको डङगुर देखिन्छ ।
हस्पिटलबाट उत्पादित फोहोर ब्यवस्थापनको जिम्मा पाएका ठेकेदारहरुको लापरवाहीका कारण खोलामा फोहोर फालिएको स्थानीयले बताएका छन् । उनीहरुले खोलामा फोहोर फाल्नेलाई कारवाही गर्न माग गर्दै आगामी दिनमा त्यो क्रम रोकिनुपर्ने बताएका छन् ।
कनकाई नगरपालिका वडा न ८ र ९ मा पर्ने सो स्थानमा १० औं गाडी फोहोर फालेको पाइएको छ । पर्यावरणीय सन्तुलनको दृष्टिले जलसतहमा फोहोर बिसर्जन गर्न पाइदैन । त्यसमा पनि अस्पतालबाट उत्पादन हुने फोहोर त झन सुरक्षित तरिकाले नष्ट गरिनु पर्ने वाताबरणविज्ञहरुको भनाई छ ।

‘अस्पतालको फोहोर खोलामा फाल्नु भनेको गम्भिर अपराध हो, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने– ‘उनीहरुलाई कानुन बमोजिम कारवाही हुन्छ ।
खोलामा फालिएका फोहोरका पोकामा बिर्तामोडका बिभिन्न अस्पतालका पुर्जी भेटिएका छन् । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अस्पतालजन्य फोहोरको व्यवस्थापन सम्बन्धित अस्पतालले नै गर्ने गरेको बताए । ‘अस्पतालको फोहोर नगरपालिकाले उठाउने गरेको छैन । उनीहरू आफैले व्यवस्थापन गर्दै आएका छन् । अस्पतालजन्य फोहोर खोलामा फाल्नु गम्भीर गल्ती हो,’ उनले भने ।
बिर्तामोडको मनमोहन मेमोरियल अस्पतालका अध्यक्ष नरेश खरेलले खोलामा फोहोर फालेकोबारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने– ‘फोहोर ब्यवस्थापनका लागि ठेकेदारलाई जिम्मा दिएका हुन्छौं, उसले कहाँ फाल्छ भन्ने हामीलाई थाहा हुँदैन ।’
खोलामा फोहोरको डङगुर थुप्रिएको थाहा पाएपछि सामाजिक अभियन्ता शेरबहादुर थापा, कमलबहादुर थापा तथा गणेश ढुङगानासहितको टोलीले खोलाबाट फोहोर झिक्न थालेको छ । उनीहरुले अस्पतालबाट उत्पादन हुने फोहोर झनै संक्रामक हुने भएकाले त्यसलाई झिकेर किनारामा राख्न थालेको बताए । अभियन्ता थापाले खोलामा पर्ची भेटिएका अस्पतालले त्यहाँको फोहोर ब्यवस्थापनमा चासो नदेखाए फेरी अस्पतालमै ल्याएर फोहोर फाल्दिने बताएका छन् ।